२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा वर्षेनी शापुको प्रकोप, उपचार ढिलो भए आँखाको ज्योति नै गुम्ने डर

पोखरामा वर्षेनी शापुको प्रकोप, उपचार ढिलो भए आँखाको ज्योति नै गुम्ने डर


पोखरा – बागलुङकी पूर्णा विक २३ भदौको बिहान ५ बजे हिमालय आँखा अस्पताल पुगिन् । उनको दाहिने आँखामात्रैमा रातो भएको थियो । निदाएर ब्युझिँदा राति ३ बजे उनलाई आँखा दुखेको महसुस भयो । उनले उज्यालोमा हेर्नै सकिनन् ।

पोखरा १५ काजी पोखरी बस्दै आएकी उनी आँखाको दुखाइ बढ्दै गएपछि आँखा अस्पताल पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनले पत्तो पाइन् कि आँखा दुखेको र रातो हुनुको कारण त शापु पो रहेछ । पूर्णालाई कसरी यस्तो भयो भन्ने यकीन जानकारी छैन ।

उनले घरसरसफाइ गर्दा शापु फैलाउने पुतलीको झुस चलाएको हुनसक्ने अनुमान गर्छिन् । अहिले आँखामा ज्योति पूर्णरुपमा आइसकेको छैन तर, दुखाइ कम भई सामान्य सुधार भएको उनको भनाइ छ ।

यस्तै, अर्का एक वयस्कको उपचारपछि २५ भदौमा अस्पतालले डिस्चार्ज गरेको छ । डिस्चार्ज भएका उनलाई प्रत्यक्ष पुतलीको संसर्गमा गएको कुनै ख्याल थिएन । अस्पताल स्रोतकाअनुसार अन्य ३ जना संक्रमितलाई काठमाडौं रिफर गरिएको छ ।

यी त प्रतिनिधि घटनामात्रै हुन्, हिमालय आँखा अस्पतालले दिएको जानकारी अनुसार यो सिजनमा २० जना शापुका बिरामी आँखा जाँच गराउन पुगेका छन् । केहीलाई धुलिखेल अस्पताल रिफर गरिएको डा. हरिमाया गुरुङले जानकारी दिइन् ।

उनले भनिन्,‘विगतका वर्षहरुमा १ वर्ष बिराएर शापु देखिने गरेको भए पनि यसवर्ष लगातार देखिएको छ । यो त दृष्टि नै खोस्न सक्ने खतरनाक रोग हो, २४ देखि ४८ घन्टामा उपचार भएन भने आँखाको ज्योति नै गुम्ने जोखिम रहन्छ, शापु हुनासाथ ज्योति कम हुन थाल्छ ।’

अस्पताल आएका बिरामीको उपचारका क्रममा अपरेसन कक्षमा लगेर आँखामा भरिएको पिप निकालिएको डा. गुरुङको भनाइ छ । त्यसरी निकालिएको पिपमा संक्रमण हुने ब्याक्टेरिया वा भाइरस हुनसक्ने भएकाले विशेष जाँचका लागि संकलन गरिएको छ ।

शापुको संक्रमण एकैपटक दुवै आँखामा हुँदैन, यो रहस्यमय भएको उनको भनाइ छ । शापुको उत्पत्ति २०३२ सालमा पोखरामै भएको डा. गुरुङ बताउँछिन् । शापु संक्रमित आँखाको उपचारका लागि आँखामा पिप सुकाउने इन्जेक्सन लगाउने र आँखाबाट पिप निकालेर फ्याक्ने गरिएको डा. गुरुङको भनाइ छ ।

सेतो पुतली बच्चाहरुले खेलाउने र सावधानी नहुँदा आँखाको ज्योतिसमेत गुम्न सक्ने जोखिम हुने गरेको भए पनि पछिल्लो समयमा परिपक्व र पूर्व सावधानी अपनाउन सक्ने वयस्कमा पनि शापु देखिएको हिमालय आँखा अस्पतालका चिकित्सक डा.इन्द्रमान महर्जन बताउँछन् । पहिले बच्चामा मात्रै देखिएको शापु पछिल्लो समयमा वयस्कमा पनि देखिनु रहस्यमय भएको उनको भनाइ छ । उनी भन्छन्,‘यो अध्ययनकै विषय हो ।’ उनले अस्पतालमा आएकामध्ये ७ जना बच्चा रहेको जानकारी दिए ।

अहिलेसम्म आँखाको ज्योति गुमेको घटना भने नभएको अस्पतालले जनाएको छ । बिरामीका भनाइ सुन्दा कोठाभित्र, बिछ्यौनामा टाँसिएर रहेका पुतली वा पुतलीले खसालेका झुसका कारण वयस्कमा शापु संक्रमण भएको छ । तर लामो समयसम्म बच्चामा मात्रै देखिएको शापु वयस्कमा संक्रमण नहुनुको कारण भने पत्ता लागेको छैन ।

शापुको जोखिम बढ्दै गएपछि हिमालय आँखा अस्पतालले गण्डकी प्रदेशका विभिन्न आँखा केन्द्रका प्रमुखलाई २५ भदौको साँझ पुनर्ताजगी गर्ने गरी जुम मिटिङ सञ्चालनको तयारी गरेको अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुभाष नेपालले जानकारी दिए ।

जुनसुकै पुतलीबाट शापु हुँदैन

सहरी क्षेत्रमा सडक बत्तीमा हुलका हुल पुतली झुम्मिरहेको देखिएको छ । चिकित्सकका अनुसार जुनसुकै पुतलीको शरीरमा हुने धुलोले आँखालाई असर गर्छ । तर शापु फैलाउने पुतली फरक किसिमको हुन्छ ।

शरीरमा बाक्लो झुस हुने, शिरतिर तेर्साे र पखेटातिर कालो धर्का हुने पुतलीबाट शापु फैलन सक्ने चिकित्सककोे भनाइ छ । यो प्रजातिको पुतली सामान्यतया बत्ती र झ्याल वरिपरि घुम्ने र कपडामा टाँसिएर बसेको भेटिन्छ । दिउँसोको समयमा भने बोटबिरुवामा बसेको हुन्छ । सामान्यतया साउनदेखि असोजसम्मम देखिने यो पुतली अरुभन्दा फरक किसिमको हुन्छ । ग्याजलिना प्रजातिको पोथी पुतलीबाट शापु रोग लाग्ने कीट विशेषज्ञको भनाइ रहेको डा. गुरुङले उल्लेख गरिन् ।

रातिको समयमा सहरी क्षेत्रमा सडक बत्तीमा झुम्मिएका पुतली बिहान मरेका हुने र सवारीले किचेर धुलो बनाउने हुँदा सडकमा पैदल यात्रु र दुई पाङ्ग्रे चालकलाई शापुको जोखिम हुनसक्ने देखिन्छ ।

थाहै नपाई हुन सक्छ शापु

शापुबाट बच्न कालो धर्का हुने सेतो पुतलीबाट जोगिनु एकमात्रै विकल्प हो । तर, यो भन्दाजस्तो अपनाउन सहज छैन । कोठामा बत्ती बलेको अवस्थामा प्रवेश गरेर बेडमा बसेको र नदेखिएको अवस्थामा पनि समस्या आउन सक्छ । धोएर सुकाएकै कपडामा पनि शापु फैलाउने पुतली बसेर झुस छाडेको हुन पनि सक्छ । पुतलीलगायत कीराहरु भएको अवस्थामा कपडालाई धोएर प्रयोग गर्दा न्यूनीकरण गर्न सकिन्छ ।

कहिलेकाहीँ पुतली नदेखिने तर झुस छाडेर गइसकेको पनि हुन सक्छ । झुस भएको बेड वा कपडाका माध्यमले आँखा चिलाउने, आँखाको सेतो भाग रातो हुने लगायत लक्षण देखिन्छ । शापुका कारण आँखाको ज्योतिसमेत गुम्नसक्ने भएकाले त्यसतर्फ सचेत रहने विज्ञको सुझाव छ ।

आँखामा चिप्रा लाग्दैन भने संक्रमित आँखाले उज्यालोमा हेर्न सक्दैन । आँखाको दुखाइ कसैमा सामान्य हुन्छ भने कसैमा बढी हुन्छ । आँखाको दृष्टिमा कमी आएको हुन्छ । शापुबाट बच्न सेतो पुतलीबाट टाढै रहने, धेरै उज्यालो, सेतो बत्ती नबाल्ने, साँझ र राति झ्याल, ढोका बन्द गर्ने, सम्भव भए झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा मधुरो बत्ती बाल्ने र झुलभित्रमात्रै सुत्ने गर्नुपर्छ । शापुको लक्षण देखिइहालेमा आँखा अस्पतालमा गएर स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार गर्नुपर्छ । तर आफूखुसी आँखाको औषधी वा जडिबुटी राख्न नहुने चिकित्सक बताउँछन् ।

अस्पतालमा कसरी हुन्छ उपचार ?

विशेषज्ञ डा. महर्जनका अनुसार शापुका कारण आँखामा पिप जमेको हुन्छ । आँखामा जमेको पिप सुकाउन सुई लगाउने वा अपरेसन गर्नुपर्ने हुन्छ । उपचारका लागि बिरामीलाई २४ घन्टाभित्रै अस्पतालमा पु¥याउनुपर्छ । बिरामीलाई जति चाँडै अस्पताल पु¥याउन सकिन्छ त्यति नै आँखा सुरक्षित हुने र जति ढिला हुँदै जान्छ त्यति नै आँखाको ज्योति गुम्ने खतरा बढ्दै जाने डा. गुरुङ बताउँछिन् ।

सरसफाइ र सावधानीका कारण बच्चाको तुलनामा वयस्कको उपचार सहज हुने चिकित्सकको भनाइ छ । डा. महर्जनका अनुसार शापु संक्रमित ३ जनाको जटिल अप्रेसन गरिएको छ । जटिल अप्रेसनमा त आँखाको भित्रपट्टिको भाग पूरै सफा गरिन्छ ।

५ जनाको आँखाको गेडीभित्रै इन्जेक्सन लगाएर उपचार गरिएको छ । अन्यको भने आँखाको बाहिरी भागको सेतो नानीमा इन्जेक्सन दिएर उपचार गरिएको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)