२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश८ वर्षमा युआरएलमा १२ करोड लगानी, ६२ जना प्राविधिकलाई रोजगारी

८ वर्षमा युआरएलमा १२ करोड लगानी, ६२ जना प्राविधिकलाई रोजगारी

६ ठाउँबाट ४ लाख बढीलाई सेवा


पोखरा—पोखरामा मात्रै नभएर गण्डकी प्रदेशमै रिफ्रेन्स ल्याब थिएन । थाइराइड, भिटामिनलगायत जाँच गर्न काठमाडौं, बम्बईलगायत ठाउँमा स्याम्पल पठाउनुपर्ने बाध्यात्मक अवस्था थियो । रिपोर्ट ढिलो हुँदा उपचारमा ढिलाइ, रिपोर्ट नआउँदै बिरामीको मृत्यु, तापक्रमका कारण गुणस्तरहीन रिपोर्ट आउनेजस्ता समस्या थिए ।

काठमाडौंको हेल्थ सेक्टरका क्वालिटी विज्ञ सुशील थापा, डा. अमर नागिला, चेतबहादुर गुरुङ, ठाकुरप्रसाद पन्त, बाबा देउजा, दर्पण सिलवाल, वासुदेव कोइरालालगायत १२ जनाको समूह काठमाडौंको ल्याबको पोखरामा शाखा विस्तार गर्ने छलफलमा जुट्यो ।

छलफलमा शाखा नभएर प्रधान कार्यालय भएको ल्याब नै स्थापना गर्ने निष्कर्ष निकालेपछि चेतबहादुर गुरुङ अध्यक्ष तथा ठाकुरप्रसाद पन्त प्रबन्ध निर्देशक रहने गरी युनाइटेड रिफ्रेन्स ल्याबोरेटरी प्रा. लि. (युआरएल) २३ मंसिर २०७० मा स्थापना भएको थियो । ल्याबका प्रबन्ध निर्देशक पन्त अहिले अध्यक्ष छन् ।

युआरएलका अहिले प्रधान कार्यालयसहित कास्कीमा २, तनहुँमा २, लमजुङमा १, स्याङ्जामा १ गरी ६ शाखा छन् । शाखा विस्तार र गुणस्तरमा जोड दिएको अध्यक्ष पन्त बताउँछन् । ‘४ सयभन्दा बढी दैनिक जाँच हुनुपर्ने सरकारी मापदण्ड र जनशक्ति अभावले ए ग्रेड बन्ने सम्भावना भने अहिले नै देखिएको छैन,’ उनले भने । पोखरामा १ दर्जनभन्दा बढी रिफ्रेन्स ल्याब खुलेको बताउँदैं पन्तले प्रतिस्पस्र्धा नभएर गुणस्तरमा जोड दिएको सुनाए । आम नागरिकमा स्वास्थ्यमा चासो बढेकाले सेवा दिन सहज होस् भन्ने हेतुले शाखा खोलिएको उनको भनाइ छ ।

युआरएलमा दैनिक रगतसम्बन्धी साढे ३ सयभन्दा बढी र पिसाबसम्बन्धी २०÷२५ प्रकारका जाँच हुने गरेको छ । ल्याबले काठमाडौंबाहिर पहिलोपटक ट्रयाक्रोलिमस जाँच सुरु गरेको छ । उक्त जाँचका लागि संसारकै उत्कृष्ट मेसिन प्रयोग गरिएको उनी बताउँछन् । कोभिड एन्टीबडी जाँच, कुन प्रकारको थाइराइड हो भन्ने पनि पत्ता लगाउनेलगायत जाँच पनि भइरहेको छ । मुटु, मिर्गौला र कलेजोसम्बन्धी जाँचका सेवा थप गर्ने योजना अध्यक्ष पन्तले सुनाए ।

युआरएलमा ७ सयभन्दा बढी डाक्टरहरुबाट रेफ्रेन्स ल्याबका लागि सिफारिस हुने गरेको उनले सुनाए । १०५ निःशुल्क स्वास्थ्य शिविरमा ४२ विशेषज्ञ डाक्टरबाट सचेतना तथा काउन्सिलिङ गरिएको थियो । युआरएलबाट सेवा लिने ४ लाखभन्दा बढी छन्, जसमध्ये निःशुल्क सेवा लिने ७२ हजारभन्दा बढी भएको अध्यक्ष पन्तले जानकारी दिए ।

हस्पिटल चोकमा प्रतिष्ठानमा रिफर भएका बिरामीले त्यहाँ नपाएका सेवा दिने गरी २४ सै घन्टा सेवा दिइएको उनी बताउँछन् । ‘युआरएलमा ६२ जना प्राविधिकले काम गरिरहनुभएको छ । सुरुमा ३ करोड लगानी भएको भएपनि अहिले थप गर्दै जाँदा १२ करोडभन्दा बढी पुगेको छ,’ उनी भन्छन्, ‘नियमित जाँच गर्नुपर्ने बिरामीका लागि लाभ भएको छ ।’

गुणस्तर कमी, सरकारी अनुगमन फितलो, मापदण्डमा कडाइ नहुने, कर नतिर्ने ल्याबका कारण आफूहरु अलि अप्ठयारोमा पर्ने गरेको उनको गुनासो छ । अध्यक्ष पन्तका अनुसार युआरएल ८ औं वार्षिकोत्सवको अवसरमा पोखरा र दमौलीमा निःशुल्क हेल्थ क्याम्प आयोजना गरिएको छ भने मंसिर १७ गते प्राविधिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । ‘१८ गते सेमिनारको आयोजना गरिएको छ, बम्बैका मुटुरोग विशेषज्ञ र काठमाडौंका विज्ञबाट सेमिनारमा सहजीकरण हुनेछ,’ उनी भन्छन्, ‘वार्षिक रुपमा सेमिनार गर्दै आएका छौं ।’

युआरएर हेल्थ पत्रकारिता पुरस्कार स्थापना

युआरएलले ‘युआरएल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र रहेको छ । पत्रकारितामार्फत स्वास्थ्य क्षेत्रमा योगदान गर्ने १ पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने युआरएल अध्यक्ष पन्तले जानकारी दिए ।

युआरएल पत्रकारिता पुरस्कार—२०७८ प्रदानका लागि प्रतिभा छान्न नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारीलाई सदस्य मनोनयन गरिएको युआरएलले जनाएको छ ।

उक्त पुरस्कारबाट अहिलेसम्म ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।मंसिर २३ गते युआरएल पत्रकारिता पुरस्कार वितरण समारोह हुने अध्यक्ष पन्तले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ