२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना भाइरस जोखिम न्यूनीकरणका लागि के गर्दैछ कर्णाली सरकार ?

कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि के गर्दैछ कर्णाली सरकार ?


वीरेन्द्रनगर—उत्तरी छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोनाको प्रकोप अन्य देशहरुमा समेत फैलिदैं गएपछि नजिकको कर्णाली प्रदेशका नागरिकमा समेत त्रास पैदा भएको छ । प्रदेशका झण्डै तीन जिल्लासँग प्रत्यक्ष सिमाना जोडिएको कर्णालीका उत्तरी क्षेत्रमा बस्ने नागरिकमा यसको त्रास बढेको हो ।

चीनसँग सीमा जोडिएका क्षेत्रका नागरिकलाई सहज रुपमा चिनियाँ क्षेत्रमा आवातजावत हुने तर भाइरसबाट बच्ने सावधानीका बारेमा केही पहल नभएपछि उत्तरी क्षेत्रका नागरिकमा यसको त्रास फैलिएको हो । कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्ला तिब्बतसँग जोडिएका क्षेत्रका नागरिकले अधिकांश दैनिक उपभोग्य सामग्रीका लागि चीनको स्वशासित क्षेत्र तिब्बतमै निर्भर हुनुपर्ने बाध्यता छ । तिब्बतसँग हुम्लाको यारी, लिमी, चवाँखोला, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाकाबाट तिब्बत र नेपालका स्थानीय नागरिकबीच सहज आवातजावत हुने गरेको छ ।

अहिले हिउँका कारणले बाहिरबाट जाने नागरिकको आवातजावत बन्द भएपनि गर्मीयाम सुरु भएसँगै दैनिक उपभोग्य सामग्री ल्याउन र अन्य कामका लागि चीनको ताक्लाकोट बजारमै भर पर्नुपर्ने बाध्यताले पनि स्थानीय नागरिकमा कोरोना भाइरसको त्रास बढ्दै गएको चीनसँग सिमाना जोडिएको हुम्लाको ताँजाकोट गाउँपालिका २ का समाजसेवी जयधन सुनारले बताए । ‘चीनका कोरोना भाइरसले आक्रान्त हुँदा हामी पनि त्रसित भएका छौं,’ उनले भने, ‘निकै टाढाका देशका नागरिकलाई कोरोनाबाट बचाउने उपायका बारेमा सरकारले विभिन्न प्रकारका सावधानी अपनाएपनि हाम्रो प्रदेश र संघीय सरकारले अहिलसम्म केही गरेको छैन ।’

कोरोना भाइरसका बारेमा जानकारीदेखि सिमानामा भएका नागरिकको नियमित स्वास्थ्य परीक्षणसमेत गर्नुपर्ने माग राखेका हुम्लाको सर्केगाड गाँउपालिका २ का बिर्ख फडेराले यसका बारेमा कुनै निकायले ध्यान नदिएकोमा असन्तुष्टी व्यक्त गरे । कोरोना भाइरसबाट बच्न अहिलेदेखि नै लाग्नुपर्ने विषयमा सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।

प्रचारमै सीमित प्रदेश सरकार

उत्तरी छिमेकी मुलुक चीन र भारतबाट आवत जावतमा सहज भए पनि त्यसबाट आउने नागरिकको स्वास्थ्य अवस्थाका बारेमा बुझ्ने संयन्त्रका बारेमा कुनै पहल प्रदेश सरकारको तर्फबाट हुन सकेको छैन । तर, यसका बारेमा कर्णाली प्रदेश सरकारले नागरिकमा जनचेतना फैलाउने काम गरेको दाबी सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले गरेको छ । ‘कोरोना भाइरसका बारेमा प्रदेशका सबै जिल्लामा प्रदेश सरकारकातर्फबाट सचेतना अभियान चलाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारी जोशीले बताइन् ।

‘सबै जिल्लामा अहिले हामीले कोरोना भाइरसका विषमा जानकारी दिने काम गरिरहेका छौं,’ उनले भनिन, ‘प्रचारप्रसारको काम तीब्र पारेका छौं । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ कर्णाली प्रदेश सरकारले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि एउटा समिति नै बनाएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा महाशाखाले कोरोनाका बिरामी फेला परेमा तत्कालका लागि कर्णाली प्रदेश अस्पतालमा दुई बेड छुट्टै राखिएको जनाएको छ । कोरोनाको संक्रमण हुन नदिन स्रोत साधन ब्यवस्थापन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको निर्देशक जोशीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ