२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीको ९ प्रतिशत बजेट कोरोना महामारी तथा नियन्त्रणमा केन्द्रित

कर्णालीको ९ प्रतिशत बजेट कोरोना महामारी तथा नियन्त्रणमा केन्द्रित


सुर्खेत – कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब ९ प्रतिशत बजेट छुट्याएको बताएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमोबार सदनमा बजेट प्रस्तुत गर्दै करिब ९ प्रतिशत महामारी नियन्त्रण तथा कोरोना केन्द्रित रहेको जनाएका हुन।

कर्णाली प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७७-७८ का लागि बजेट प्रस्तुत गरेको हो । यसको साथै सो बजेट परिस्थिति बमोजिम मुलभुतरुपमा भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताइएको छ ।

गत आर्थिक वर्षको तुलनामा करीब रु. ५० करोड न्यून रहेको बजेटमा ‘विकटता, विपन्नता र वेरोजगारीसँग जुधिरहेको कर्णाली प्रदेश हालको कोभिड १९ रोगबाट मृत्यु हुने व्यक्तिका परिवारलाई रु. १ लाख राहत घोषणा गर्ने भएको छ । यस विश्व महामारीको नियन्त्रणका लागि रु. १ अर्ब ५५ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, ‘प्रदेश अस्पतालमा २०० आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आई.सि.यु.) र २० भेन्टिलेटर सहितका विशेष सघन उपचार कक्ष बनाउने बजेट छुट्याएको छु।’

हरेक जिल्ला अस्पतालमा कम्तिमा ५० वटा आइसोलेसन बेड, कम्तिमा दश सघन उपचार कक्ष (आई.सि.यु.) र कम्तिमा पाँच भेण्टिलेटर सहितको सघन उपचार कक्ष तयार गर्न बजेट विनियोजन गरिएको छ । प्रदेश अस्पताललाई ३०० शैय्याको शिक्षण अस्पताल बनाउने, राकम कर्णालीमा ट्रमा अस्पतालको स्थापना गर्ने, घुम्ती अस्पतालको अवधारणा र दूर स्वास्थ्य (टेलिमेडिसिन) सेवा सञ्चालन गर्ने लगायतका नवीन र दूरगामी कार्यक्रम सहित स्वास्थ्य क्षेत्रका लागि करीब ९ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनाएका छन्।

भारत लगाएत तेस्रो मुलुक र प्रदेश वाहिर रोजगारीका लागि गएका हजारौं कर्णालीबासी वर्तमान सङ्कटले घर फिर्ता भएको भन्दै सरकारले त्यस तर्फ बजेट केन्द्रित गरेको मन्त्री ज्वालाले बताए । ‘विगतदेखि नै खाद्य सङ्कट भोगिरहेको कर्णाली प्रदेशले हाल थप समस्या सामना गरिरहेको बताउदै यस प्रदेशले घर फर्किएका व्यक्तिहरूलाई श्रम र उत्पादनसँग जोडेर कृषि क्षेत्रको सुधार गर्दै श्रम सहितको राहतका लागि करीब १ अर्ब बजेट विनियोजन गरेको छ । खाद्य भण्डारण र आपूर्तिका लागि एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम ल्याइएको छ । आफ्नो गाँउ आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको करीब २० प्रतिशत अर्थात रु. ७ अर्ब उत्पादन बजेट रोजगारीका लागि विनियोजन भएको छ । कोरोना महामारीबाट फर्किएका बेरोजगार युवालाई श्रममूलक रोजगारीको माध्यमबाट विकास क्रियाकलापसँगै रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम अघि बढाइएको छ उनको भनाई छ ।

यसका साथै कोभिड १९ को कारणले अध्ययन, अध्यापन र सिकाइमा परेको प्रभावलाई न्यूनीकरण गर्न दुर्गम पहाडी क्षेत्र सहित प्रदेशका सबै जिल्लामा एफ.एम. रेडियो, टेलिभिजन र इन्टरनेट समेतको माध्यमबाट दूर शिक्षा प्रदान गर्न भर्चुअल रिसोर्स सेन्टर (स्रोत केन्द्र) स्थापना गर्ने घोषणा गरी रु ११ करोड बजेट छुट्याइएको छ । मन्त्री ज्वालाले कर्णालीको कुल बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार ल्याएका छन् । कुल वजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ