२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका तीन जना डाक्टरले लगाए खोप

कर्णालीका तीन जना डाक्टरले लगाए खोप


सुर्खेत –  कर्णाली प्रदेशमा तीन जना डाक्टरले संयूक्त रुपमा कोरोना विरुद्धको खोप लगाएर अभियानको शुभारम्भ गरेका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोरोना खोप व्यवस्थापनका संयोजक एवम बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले संयूक्त रुपमा खोप लगाएर अभियानको सुरुवात गरेका हुन् ।

खोपको शुभारम्भ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नागरिकमा खोप प्रतिको विश्वासको भावना जागृत गराउने स्वास्थ्यकर्मीको दायित्व रहेको उनको भनाई छ । कोरोना माहामारीको पहिलो खोप अभियान शुभारम्भ भैसकेकाले यसपछि सबै नागरिकलाई खोप उपलब्ध गराइने भण्डारीले बताए ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक खड्काले नागरिकहरुलाई विश्वास दिलाउन आफैबाट सुरुवात गरेको उनले बताए । ‘यो खोपको सम्पूर्ण प्रक्रियाहरु पुरा भएर आएको हुँदा यसमा ढुक्क भएर लगाउनुभए हुन्छ’ ,उनले भने, ‘नागरिकहरुलाई विश्वास दिलाएर अभियानमा सहभागी गराउने उद्देश्यले हामीबाटै अभियानको सुरुवात गरेका हौ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकका अनुसार आठ वटा जिल्ला अस्पतालकासाथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप शुभारम्भ भइसकेको बताए ।

कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने उनले जानकारी दिए । कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप पुगेको छ । पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ ।

प्रदेशको सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा खोप पठाइएको खड्काले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरण अन्र्तगत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइरहेको छ । कर्णालीका १० जिल्लामा झण्डै १२ हजार खोप आइपुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ