२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिकूल मौसमले हुम्लाकी गर्भवती महिलाको उद्धार हुन सकेन

प्रतिकूल मौसमले हुम्लाकी गर्भवती महिलाको उद्धार हुन सकेन


जुम्ला–लगातारको वर्षाले प्रतिकूल मौसमले हुम्लाकी एक गर्भवती महिलाको तीन दिनदेखि उद्धार हुन सकेको छैन । जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधनको अभावमा सुत्केरी गराउन नसकेपछि महिलाको ज्यान जोखिममा परेको हो । पेटभित्रै बच्चाको मृत्यु भएपछि आमाको अवस्था जोखिममा रहेको डाक्टरहरूको भनाइ छ ।

‘असार २ गतेसम्म बच्चाको अवस्था राम्रो थियो । असार ३ गते चेक गर्दा गर्भवती महिलाको पेटमै बच्चाको मृत्यु भएछ,’ जिल्ला अस्पतालका डाक्टर अमित विष्टले भने ।

डा. विष्टकाअनुसार प्रसुती व्यथा लागेकी सिमकोट गाउँपालिका –६ की २७ वर्षीया जगतमाया रोकायालाई असार १ गतेदखि इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

प्रसुती २७ असारमा तोकिएको भएतापनि व्यथा लागेकोले अस्पताल ल्याइएकी रोकायाको अवस्था जटिल भएको भन्दै चिकित्सकले २ असारमा नेपालगन्ज लैजान सिफारिस गरेका थिए ।

पर्याप्त रगत र उपकरण नभएका कारण जोखिम लिएर अस्पतालमा अप्रेसन गर्न नसकिएपछि जिल्ला बाहिर रिफर गरिएको डाक्टर विष्टले बताए ।

अस्पतालले नेपालगन्जको भेरी अस्पतालमा लैजान भनेपनि हालसम्म उद्धार हुन नसकेको पीडितका पति जितेन्द्र रावतको गुनासो छ ।

अस्पतालको प्रसुती गृहमा उपचार गर्दा रगत जम्न सक्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा जिल्लामा अप्रेसन गर्न नसकिएपछि बाहिर रिफर गरिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् ।

अस्पतालको सिफारिस र राष्ट्रपति महिला उत्थान कार्यक्रमको समन्वयमा उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्था भएपनि लगातारको वर्षाका कारण हेलिकप्टर उड्न सक्ने अवस्था नरहेकाले पीडित महिलाको उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ