२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा ९१ प्रतिशत कोभिड–१९ संक्रमणमुक्त

कर्णाली प्रदेशमा ९१ प्रतिशत कोभिड–१९ संक्रमणमुक्त


जुम्ला—देशभरसहित कर्णाली प्रदेश पनि कोभिड–१९ महामारीले निकै प्रभावित बनेको छ । प्रदेशका सुर्खेत, दैलेख र सल्यान कोभिड–१९ संक्रमणको हटस्पट नै बनेका थिए ।

तर, अहिले कर्णालीमा कोभिड–१९ संक्रमण दर क्रमसः घट्दै गएको छ । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोभिड–१९ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४ जना संक्रमण जितेर घर फर्केका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा एक लाख २० हजार २७८ जनाको आरटी पीसीआर र ३३ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले तथ्यांक सार्वजनिक गरेको छ । कुल संक्रमितमध्ये २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) ले कोभिड–१९ संक्रमण जितेर घर फर्केको निमित्त निर्देशक डा.रविन खड्काले बताएका छन् ।

‘पछिल्लोे दुईसाता यता कोरोना संक्रमणको दर ओरालो लागेको छ । अहिले संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ,’ निर्देशक डा.खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीका कारण १० बैशाख यता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौं ।’

आइसोलेसनमा रहेको दुई हजार संक्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् ।

कोभिड–१९ महामारीबाट प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ