२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रमुखले नै महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै आयुर्वेदका कर्मचारीले प्रशासन गुहारे

प्रमुखले नै महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै आयुर्वेदका कर्मचारीले प्रशासन गुहारे


जुम्ला—आयुर्वेद कार्यालय जुम्लाका प्रमुखले महिला कर्मचारीमाथि अभद्र यवहार गरेको भन्दै सबै कर्मचारीहरु कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका छन् ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आयुर्वेद शाखाका प्रमुख देवेन्द्र ठाकुरले कार्यालयमा जथभावी धम्की तथा गाली गर्नेदेखि विभिन्न प्रकारका अभद्र व्यवहार गरेको भन्दै कारवाहीको माग गर्दै ९ जना कर्मचारी निवेदनसहित प्रशासन पुगेका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई संयुक्त उजुरी लेख्दैं उनीहरुले आयुर्वेद शाखा चन्दननाथ नगरपालिका–१० का प्रमुख देवेन्द्र ठाकुरले सबै कर्मचारी माथि अभद्र व्यवहारलगायत पटक–पटक मानसिक यातना दिने गरेको उल्लेख गरेका छन् ।

कर्मचारीले कार्यालय प्रमुखले घरयासी कामकाजमा समेत लगाउने गरेको आरोप पनि उनीहरुको छ । यस्तो अवस्थामा काम गर्न नसकिने अवस्था भएको भन्दै उनीहरुले ठाकुरमाथि कारवाहीको माग गरेका छन् । निवेदनमा आयुर्वेदका प्रमुख ठाकुरको व्यवहार जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटालाई सोध्न समेत भनिएको छ ।

प्रमुख ठाकुरले कार्यालयमा हातपात नै गर्न खोजेपछि उनका विरुद्ध सबै कर्मचारी आन्दोलित भएर कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । आयूर्वेद शाखाका कर्मचारीहरु सुमित्रा आचार्य, छाया उपाध्याय, डा. प्रतिभा शर्मा, रञ्जना रावत, गोर्ख बुढा, कमल बुढा, पार्वती रावल, मानबहादुर रोकाया, कर्णबहादुर बुढाले संयुक्त हस्ताक्षर गरी कारवाहीको माग गरेका छन् ।

कोभिड–१९ को संकटको समयमा आफू पनि काम नगर्ने जिम्मेवारी नदिई काम समेत हुन नसकेको कर्मचारी बताउँछन् । प्रमुख ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण नबनाएका कारण १८ लाख रुपैयाँ बजेट कामै नभएर फ्रिज जाने भएको कर्मचारीले जानकारी दिएका छन् । जिल्ला जनस्वास्वाथ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार पहिले देखिनै कर्मचारीहरुबाट शाखा प्रमुखले धम्काउने गरेको गुनासो आइरहन्थ्यो । तर, १३ असारमा के भएको हो भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

‘हामी विहान कार्यालयमा गएका थियौं । तिमीहरु घर गइहाल भनेर धम्की दिएपछि हामी उनलाई कारवाही र सुरक्षाको माग गर्दै प्रशासनमा आएका हौं,’ कर्मचारी सुमित्रा आचार्यले भनिन् । कार्यालयमा जाँदा महिलाहरुले कार्यालयमा काम गर्ने होइन्, घरमा काम गर्ने हो भन्दै धम्की दिएको अर्को एक कर्मचारीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले आयुर्वेद शाखाका कर्मचारी र प्रमुखबीच पटक–पटक विवाद हुने गरेको पाइएको बताए । दुवै पक्षलाई छलफल राखी सबैका गल्ती कमीकमजोरी सुधार गर्ने र आगामी दिन यस्तो कार्य नगर्ने र पुनः यस्तो कार्य गरिएको खण्डमा विभागीए कारवाही हुने भनेर मिलापत्र गरिएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ