२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गमका प्रसुती गृहमा अध्यारोमै बच्चा जन्माउँछन् गर्भवती महिला

दुर्गमका प्रसुती गृहमा अध्यारोमै बच्चा जन्माउँछन् गर्भवती महिला


जुम्ला—जुम्लाको दुर्गम भेगमा रहेका प्रसुती गृहमा गर्भवती महिलाले अध्यारोमै बच्चा जन्माउने गरेका छन् । प्रसुती गृहमा बिजुलीको व्यवस्थापन नहुँदा गर्भवती महिलाले टर्च, लाइट, दियालो र क्याण्डिलको उज्यालो गरेर बच्चा जन्माउने गरेका हुन् ।

सदुरमकाम खलंगाबाहेक अन्य दुर्गम भेगका गर्भवती महिलाले लामो समयदेखि यसरी नै बच्चा जन्माउने गरेको स्थानीय महिला स्वयंसेविकाले बताउने गरेका छन् ।

हिमा गाउँपालिका–६ महाबैपातर खोलामा रहेको स्वास्थ्य चौकी तथा प्रसुती गृहमा खाने पानी र बिजुली छैन । इन्टरनेट चल्दैन् । जसका कारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ । ‘एउटा स्वास्थ्य चौकीमा हुनुपर्ने कुनै पनि पुर्वाधार छैन,’ स्वास्थ्य चौकी इन्चार्ज टेकबहादुर बुढाले भने, ‘दुर्गमका स्वास्थ्य चौकीमा पुर्वाधार अभावले आफै बिरामीजस्ता छन् । आउने विरामीको कसरी उपचार गर्दछन् । स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ ।’

‘स्वास्थ्य चौकीले दिनुपर्ने सेवा सबै दिन्छौं,’ उनले थपे, ‘पुर्वाधार अभावले प्रभावकारी स्वास्थ्य सेवा दिन सकेका छैनौं ।’ महाबैपातर खोला स्वास्थ्य चौकीले ओपिडी सेवा, गर्भजाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेको छ । स्वास्थ्य चौकीले दिने सबै सेवा दिन कुनै कन्ज्युस्याई हुँदैन ।
स्थानीयले पाउने सेवा सरल, सहज बनाइएको छ । औषधी अभाव हुन दिइएको छैन । इन्चार्ज बुढाले भने, ‘तर, पूर्वाधार अभावका कारण सोचेअनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन ।’

बत्ती नहुँदा सुत्केरी गराउने बेला मोबाइलको टर्च बालेर सेवा दिनुपर्ने सिनियर अनमी जयलक्ष्मी रावतले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म स्वास्थ्य संस्थाबाट २५ देखि ३० जना आमाले सुत्केरी सेवा लिएका छन् । बर्थिङ सेन्टरमा विजुली नहुँदा समस्या भएको छ ।’ रातीको समयमा सुत्केरी हुनका लागि आएपछि अध्यारोमा सुत्केरी गराउन कठिन हुने गरेको बताइन् ।

बर्थिङ सेन्टरमा न खानेपानी छ, नत तातोपानी तताउने सामाग्री नै । उनले थपिन्, ‘जटिल प्रकृतिका सुत्केरी आएको खण्डमा घरबाटै पानी तताएर ल्याउनुपर्ने अवस्था छ । यो दुर्भाग्यपूर्ण हो ।’

भौगोलिक विकट्ताका कारण स्वास्थ्य चौकी गर्भ जाँच गराउन आउनेको संख्यामा कमी आउने गरेको स्वास्थ्य स्वयंसेविका सम्झना शाही बताइन् । उनले भनिन्, ‘सुत्केरीलाई स्वास्थ्य संस्था सम्म लैजानको लागि स्टे«चर पनि छैन । जसले सुत्केरी लिन चुनौती छ ।’

कोभिड–१९ का बेला स्थानीयलाई घरमै गएर स्वास्थ सुरक्षाका मापदण्डहरु पालना गर्न सुझाव दिइएको उनी बताउँछिन् । ‘गर्भवती र सुत्केरीका लागि रातदिन खटिदै आएका छौं,’ उनले भनिन्, ‘भौगोलिक रुपमा विकट भएपनि सेवा दिने हिसाबमा निकट हुने गरेका छौं ।’
हिमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन रावतले स्वास्थ्य संस्थामा औषधीको अभाव हुन नदिएको बताए । ‘बेलाबखत औषधीको अवस्थाका विषयमा अनुगमन गरिरहेका छौं । अब स्वास्थ्य चौकीमा आमा घर स्थापना गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘स्वास्थ्य संस्थाको सेवा प्रवाह सहज बनाउन र औषधीको अभाव हुन नदिनको लागि सदैव क्रियाशील नै छौं ।’

स्वास्थ्य संस्थामा विजुलीको अभावले समस्या हुने गरेको गुनासोको सम्बोधन गर्दै उनले तत्काल एउटा सोलार व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘पहिले टर्च उपलब्ध गराएका थियौं,’ उनले भने, ‘अहिले सोलार दिन तयार छौं । स्वास्थ्य शाखाको सम्पर्कमा आउनु होला ।’
हिमा गाउँपालिका–६ का वडाध्यक्ष बलवहादुर रावत स्वास्थ्य स्वास्थ्यमा समुदायको असहयोग भएको जानकारी दिए । उनले भने, ‘जति सेवा प्रवाहको बारेमा चासो राख्छन् । त्यति स्थानीय नागरिक संवेदनशील हुँदैनन् ।’

स्वास्थ्य चौकीको लागि बिजुली खानेपानीको व्यवस्थापन गरिएको छ । वडाध्यक्ष रावतले भने, ‘खानेपानी र बत्ती नबाल्दै बिग्रने गरेको देखिएको छ ।’ उनले स्वास्थ्यकर्मी, स्थानीय नागरिक र वडापालिका बीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताए । हिमा गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकी बड्कीको अवस्था पनि दयनीय नै छ ।

खानेपानी, बत्ती र पर्खालको अवस्था नाजुक देखिएको इन्चार्ज शुक्रराज शाही बताए । अन्य सेवा प्रवाह स्तरीय भएपनि पुर्वाधार अभावका कारण सोचे जति सेवा उपलब्ध गराउन नसकिएको उनको अनुभव छ । स्वास्थ्य संस्थाले राम्रो सेवा दिने गरेको शिक्षक खाम्मा शाही बताउँछन् । स्वास्थ्य चौकीमा अपुग दरबन्दी भौतिक पुर्वाधारमा राजनीतिक दल, स्थानीय र स्थानीय सरकारको भूमिका अपरिहार्य रहेको उनी बताउँछन् । गाउँकार्यपालिका सदस्य रतिमान कामीले स्वास्थ्य संस्थामा खानेपानी, बत्ती र पर्खालका विषयमा समन्वय भइरहेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ