२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा करिब ६ सय एचआईभी संक्रमित, सबैभन्दा बढी सुर्खेतमा

कर्णालीमा करिब ६ सय एचआईभी संक्रमित, सबैभन्दा बढी सुर्खेतमा


सुर्खेत – कर्णाली प्रदेशमा करिब ६ सय जना एचआईभी संक्रमित रहेको सरकारी तथ्यांक रहेको छ । कर्णालीका पाँच जिल्लमा ५ सय ९१ जना एच.आई.भि संक्रमित नियमित उपचारमा रहेको तथ्यांकमा उल्लेख छ ।

कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा २९५ जना एचआईभी संक्रमित रहेका छन् । त्यस्तै, दैलेखमा १९२, रुकुम पश्चिममा ४८, कालिकोटमा ३७ र सल्यानमा १९ जना एचआईभी संक्रमित रहेका छन् । कर्णालीका बाँकि ५ जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ ।

एचआईभी  संक्रमित नखुल्ने भएकाले संख्या अझै धेरै हुन सक्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देनालयका क्षय तथा कुष्ठरोग अधिकृत पदम केसीले बताए । उनका अनुसार अहिले पनि संक्रमितहरु समाजमा अपहेलित हुने डरले खुल्न नसक्दा एकिङ तथ्यांक आउन नसकेको उल्लेख गरे । एचआईभी सामान्य हो भन्ने चेतनाको अभावका कारण उनीहरु समाजमा खुल्न नसक्ने गरेको उनको भनाई छ ।

यस्तै, कोरोना माहामारीमा एचआईभी संक्रमितलाई कर्णालीका सबै जिल्लामा औषधी पुर्याउन कठिन भएको नवकिरण प्लसका संयोजक देवेन्द्र पाठकले बताए । कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स नेपालले )शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको आप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित रहेर एचआईभी कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

उनले यस महामारीको समयमा सबै पालिकामा पुग्न समस्या भएको भन्दै यसका लागि सरकारले सबै क्षेत्रमा ओषधी तथा आवश्यक सामग्री उपलब्ध गराइदिन माग गरे ।

संयोजक पाठकले कर्णालीमा एचआईभी परीक्षण गर्ने प्रयोगशाला प्रभावकारी नहुँदा परीक्षणका लागि स्याम्पल बाहिर पठाउनु पर्ने बाध्यता रहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । यस्तै, कर्णाली प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा आउने भएको छ ।

कर्णालीका निमित्त कार्यालय प्रमुख ओम आचार्यले अब छिट्टै जनस्वास्थ्य प्रयोगशाला संचालनमा आउन लागेको जानकारी दिए । प्रयोगशाला संञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले एचआईभी परीक्षण गर्न स्याम्पल बाहिर पठाउन पर्ने बाध्यताको अन्य हुने छ ।

यस्तै, किड्स नेपालले कर्णालीमा क्षयरोग र एचआईभीका लागि काम गर्ने बताएको छ । प्रदेशका चार जिल्ला सुर्खेत, दैलेख, कालिकोट र सल्यानमा राष्ट्रिय क्षयरोगका कार्यक्रम गर्ने भएको छ । साथै सुर्खेतका पाँच पालिकामा एचआईभीका कार्यक्रम संचालन गर्न लागेको कार्यक्रम अधिकृत अन्जु सापकोटाले जानकारी दिइन । अप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित रहेर एच.आई.भि कार्यक्रम सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा काम गर्न लागेको उनको भनाई छ ।

लक्षित वर्गमा व्यापक रुपले एच.आई.भी रोकथाम कार्यक्रम विस्तार गर्ने, न्यायसंगत तथा लैंगिक संवेदनसिलताको हिसाबले एचआईभी परीक्षण तथा उपचार सेवा विस्तार गर्ने र समुदायमा आधारित सेवा तथा स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने उद्देश्यले काम गर्न लागेको उनको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला जन स्वास्थ्य सेवा कार्यालय र पालिका स्वास्थ्य शाखासँग समन्वय तथा सहकार्य गरिने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #एचआईभी संक्रमित, #कर्णालीमा ६ सय एचआईभी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ