२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा ‘तपाईंको मास्क खोइ’ अभियान सुरु

सुर्खेतमा ‘तपाईंको मास्क खोइ’ अभियान सुरु


वीरेन्द्रनगर—कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोभिड–१९ को जोखिम पुनः बढ्न थालेपछि सर्वसाधारणलाई मास्क अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सुर्खेत उद्योग वाणिज्य संघलगायतले वीरेन्द्रनगर बजारका सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्दै ‘तपाईंको मास्क खोइ’ अभियान सञ्चालन गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा मास्क अनिवार्य अभियान चलाइएको हो । कोभिड–१९ को दोस्रो चरणमा बिरामीको संख्या केही कम भएपछि निषेधाज्ञा खुकुलो गरिएको थियो । तर, निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारण बिना माक्स हिड्डुल गर्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै मास्क अभियान थालिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

सर्वसाधारणहरूले मास्क लगाउन अटेर गरेको, भिडभाड बढी गर्ने गरेको पाइएपछि माक्स अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रजिअ रिजालका अनुसार कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्न थालेपछि मास्क लगाउन आग्रह गर्नुपरेको हो । नागरिकले मास्क लगाउन अटेर गरेको पाइएको हुँदा पुनः सबैले मास्क लगाउन, भीडभाड नगर्न प्रसाशनले आग्रह गरेको छ ।

‘केही दिन नागरिकलाई सचेतना फैलाउछौं । अनिवार्य मास्क लगाउनुहोस् र स्वास्थ्यका मापदण्ड पालना गर्नुस् भनेर टोली बनाएर बजारमा अनुगमनलाई तीव्रता दिएका छौं,’ रिजालले भने, ‘यति गर्दा पनि व्यवसायी र नागरिकले अटेरी गरे संक्रमण रोक्न फेरि निषेधाज्ञा गर्नुपर्ने अन्तिम विकल्पमा जान बाध्य हुनेछौं ।’

सुर्खेतमा कोभिड–१९ को संक्रमण दर साउन दोस्रो सातापछि बढेको छ । साउनको पहिलो सातासम्म २० प्रतिशत रहेको सक्रमण दर दोस्रो सातामा आइपुग्दा ३० प्रतिशतभन्दा बढी भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक चेतननिधि वाग्लेले साउन पहिलो सातासम्म ओरालो लागेको सक्रमण दर दोस्रो सातापछि उकालो लागेको बताए । उनले साउन दोस्रो सातादेखि ३० प्रतिशतबाट माथि पुगिसकेको जानकारी दिँदै सोमबार करिब ५० प्रतिशत पुगेको उल्लेख गरे ।

कोभिड–१९ को जोखिम पुनः बढेको हुँदा मास्कको प्रयोग अनिवार्य भएको, भिडभाड नगर्न आह्वान गर्नुपरेको उनको भनाइ छ । यदि समयमै सचेत हुन नसकेमा कोभिड–१९ को तेस्रो लहरले पुनः क्षति बढाउने उनले उल्लेख गरे ।

कर्णालीको सुर्खेत कोभिड–१९ सबैभन्दा बढी प्रभावित छ । संक्रमणबाट सुर्खेतका मात्रै २०७ जना सक्रमितको मृत्यु भइसकेको छ । हाल सुर्खेतमा सक्रिय संक्रमितको सख्या तीन सय नजिक छ । दुई सयभन्दा बढी होम आइसोलेसनमा बसेका छन् ।

चाडपर्वसमेत नजिक आउन थालेपछि भीडभाड बढ्ने र कोभिड–१९ को जोखिम झन भयावह हुने खतरा देखिएको वरिष्ठ प्रशासक वाग्लेले बताए । यसका साथै सुर्खेत उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीहरूलाई भिडभाड नगर्न आग्रह गर्दै सबैलाई मास्क प्रयोगमा अनिवार्य गरेको छ ।

सामान बिक्री गर्दा मास्क अनिवार्य लगाउन, पसलमा भीड नगर्न र मास्क नलगाएका ग्राहकलाई मास्क प्रयोग गर्न सुझाव दिइएको उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलल जानकारी दिए । सुर्खेतमा प्रशासनले बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पसल खोल्न अनुमति दिइएको छ । कोभिड–१९् को जोखिम पुनः बढ्न थालेपछि समय निर्धारणलाई कडाइ गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ