२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशराष्ट्रिय आविष्कार केन्द्रको टोली जुम्ला अस्पतालमा

राष्ट्रिय आविष्कार केन्द्रको टोली जुम्ला अस्पतालमा


जुम्ला—राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणहरूको अवस्था बुझ्न तथा बिग्रेका बनाउन आविष्कार केन्द्रको टोली जुम्ला पुगेको हो ।

आइतबार कर्णाली प्रतिष्ठान जुम्ला पुगेको राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंह र उमेश किराँतीसहित ७ जनाको टोलीले प्रतिष्ठानका विभिन्न उपकरणको अवस्था अवलोकन तथा मर्मत सम्भार गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर अर्जुनबहादुर सिंहले दुर्गमका अस्पतालको उपकरण मर्मत तथा अवलोकनका क्रममा सुर्खेत कालिकोट हुँदै आविष्कार केन्द्रको टोली जुम्ला पुगेको बताए । उनले भने, ‘आइतबार जुम्ला पुगेको टोलीले प्रतिष्ठानका अक्सिजन कन्सन्ट्रेटर तथा ल्याबका गरी २/३ वटा उपकरण मर्मत गरेको छ ।’

आईसीयु, भेन्टिलेटर, ल्याब, ओटी, भिडियो, अडियो एक्सरेलगायतका विभिन्न मेसिनरी उपकरणको अवलोकन गरेका छन्,’ राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्लामै पुगेर उपकरण मर्मत, अवलोकन तथा आवश्यक ज्ञान दिएकोमा धेरै राहत मिलेको समेत प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर सिंहको भनाई छ ।

उनले थपे, ‘केही उपकरको वारेन्टी नै सकिएको हुन्छ । तर कहाँ के समस्या भयो भन्ने सजिलै थाहा पाउन मुस्किल हुन्छ । बिजुलीको समस्याले बिग्रेका उपकरण मर्मत गर्न पनि उतिकै समस्या थियो । तर, आविष्कार केन्द्रको टोलीले केही मेसिन मर्मत र केही मेसिनको समस्या पत्ता लगाएको छ ।’

दुर्गममै पुगेर यसरी उपकरणको मर्मत गर्दा कर्णाली प्रतिष्ठानलाई ठूलो राहत भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनका अनुसार आविष्कार केन्द्रको टोलीसँग प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीले छलफल तथा परामर्श गरेका छन् । आविष्कार केन्द्रले मर्मतका लागि थप पर्नु उपकरण अनुदानमा उपलब्ध गराउने भएको छ ।

त्यस्तै, अस्पताल निर्देशक डा. राजीव शाहले आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला आउँदा कर्णाली प्रतिष्ठानले धेरै लाभ लिएको बताए । उनले भने, ‘सबै उपकरण सधैं राम्रै हुन्छन् भन्ने छैन । हामीले सेवा दिइरहेका उपकरणमा पनि केही खराबी पनि हुन सक्छन् । ती समस्या पत्ता लगाउन प्रतिष्ठानमै आएर तालिम दिनुका साथै उपकरणको खराबी सोधी खोजी गर्दा ठुलो राहत मिलेको छ ।’

आइतबार उपकरणहरू मात्रै अनुगमन तथा मर्मत गरेको प्राविधिक टोली सोमबार प्रतिष्ठानका उपकरणमर्मत डिपार्टमेन्टका कर्मचारीसँग उपकरण मर्मत बारे छलफल परामर्श गरेको प्रतिष्ठानले जनाएको छ । दुर्गमका अस्पतालहरूमा बिग्रेर थन्किएका विभिन्न उपकरणहरूलाई प्रयोगमा ल्याएर नागरिकलाई सेवा प्रदान गर्न राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोलीको सहयोगले आम नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ । आइतबार जुम्ला पुगेको उक्त टोली मङ्गलवार मुगु अस्पताल मुगु जाने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ