२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ संक्रमणको त्रासकै बीच खुले विद्यालय

कोभिड-१९ संक्रमणको त्रासकै बीच खुले विद्यालय


जुम्ला—लामो समयपछि विद्यार्थीले भौतिक रुपमा उपस्थिती भएर अध्ययन अध्यापन हुने गरी विद्यालय खुलेका छन् । पछिल्लो समयमा कोभिड—१९ संक्रमणको जोखिम कम देखिन थालेपछि जुम्लामा विद्यालय खुलेका हुन् । अहिले यहाँका सबै विद्यालय खुलेर पठनपाठन नियमित भइसकेको छ । झण्डै डेढ वर्षदेखि बन्द यहाँका विद्यालय खुलेका हुन् ।

तर, कोभिड—१९ संक्रमणको त्रास भने हटेको छैन । स्थानीय ओमबहादुर थापा विद्यालय खुलेपछि विद्यार्थीलाई निकै राहत भएको बताउँछन् । उनले भने, ‘विद्यालय बन्द हुँदा घरमा पठनपाठनको वातावरण थिएन । अनलाइन कक्षा सबैको पहुँचमा छैन । किताब कापी झोलामा थन्काएर घरायसी काममा खटिएका विद्यार्थीको भविष्य उज्जवल हुने सम्भावना बढेर आएको छ ।’

कोभिड—१९ पहिलो लहरमा त्रासकाबीच विद्यालय खुल्न सकेनन् । दोस्रो लहरमा संक्रमितको मृत्यु हुन थाल्यो । संक्रमतिको संख्या बढ्यो । विद्यालय ठप्प भए । बालबालिका सबैभन्दा जोखिम देखिन थालेपछि शैक्षिक क्षेत्र निकै प्रभावित हुन पुग्यो । उनले भने, ‘अब संक्रमण कम हुँदै गएको छ । विद्यालय पनि खुल्दै गएका छन् । यो सुखद पक्ष हो ।’

जुम्लाका केही स्थानीय तहले एक साता अघिदेखि विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । केहीले सोमबारदेखि सञ्चालनमा ल्याएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई विद्यालय खुलाउनको लागि स्थानीय तहलाई जिम्मेवारी रहेको बताउँछन् । कोभिड—१९ संकट व्यवस्थापन समितिले विद्यालय खुलाउने विषयमा कुनै निर्णय गरेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले भने, ‘मापदण्ड बनाएर विद्यालय खुलाउनको लागि स्थानीय तहलाई भनिएको छ । स्थानीय तहले आफ्नो अनुकुलता अनुसार विद्यालय खुलाउँदै गएका छन् ।’ भदौ ३० गते बैठक बसेको थियो । बैठकले स्मार्ट लकडाउन निर्देशिकका २०७८ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने गर स्थानीय तहलाई जिम्मेवारी दिइएको थियो ।

कोभिड—१९ संक्रमणको त्रास कायमै छ । केही विद्यालय मापदण्ड पूरा नगरेर खुलेका छन् । सरकारले पनि लुज गरिरहेको छ । ‘खेलकुदका कार्यक्रम भइरहेका छन् । विद्यालय धमाधम खुलेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले भने, ‘विद्यालयको हकमा सबै होसियार हुनैपर्छ ।’

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारी जुम्लाका सबै विद्यालय खुलेर नियमित पठनपाठन भइरहेको बताए । उनले भने, ‘विद्यालय खुलाउन डिसीसीएमसीले पालिकालाई अधिकार दियो । स्वास्थ्य मापदण्ड अपनाएर खुलिरहेका छन् ।’

जुम्लामा १ सय ७० सामुदायिक विद्यालय छन् । कोभिड संक्रमणका कारण निरन्तर डेढ वर्ष विद्यालय बन्द रहेका थिए । विद्यालय स्वास्थ्य मापदण्ड पूरा गर्ने हो भने असुरक्षित छैनन् । इकाई प्रमुख भण्डारीले भने, ‘गाउँमा जात्रा चलिरहेका छन् । सदरमुकाम क्षेत्रमा राजनैतिक सभा समारोह भइरहेका छन् । गाउँका मन्दिरमा भिडभाड गरेर पुजा आजा भइरहेको छ । यो अवस्थामा विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने अवस्था रहेन ।’

उनले विद्यालयमा जोखिम देखिने वित्तिकै पालिकाको सिफारिसमा बन्द गराउन सकिने अवस्था रहने बताए । जुन विद्यालयमा संक्रमण देखियो त्यो विद्यालय बन्द गराउन सकिने उनको तर्क छ । स्मार्ट लकडाउने स्थानीय तहलाई बढी जिम्मेवार बनाएको उनको दावी छ ।
‘विद्यालय किताब पुगिसकेका छन् । असारमै पाठ्यपुस्तकको रकम हालिसकेको हो । पालिकाले निकासा दिइसकेका छन् । विद्यालय नियमित खुल्न सकेको खण्डमा पठपाठन सहज हुने देखिन्छ,’ उनले भने ।

दुई सिफ्टमा पठनपाठन

जुम्लाको चन्ददनाथ माध्यमिक विद्यालयले दुई सिफ्टमा पठनपाठन सुरु गरेको छ । सबै विद्यार्थीलाई एकै पटक विद्यालय ल्याउँदा जोखिम हुने भएकोले दुई सिफ्टमा बाँडिएको हो । पहिलो सिफ्ट अंग्रेजी माध्यम सबै र नेपाली माध्यमको कक्षा ९ र १० का विद्यार्थीको पठनपाठन हुनेछ । यो सिफ्ट विहान ६ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

दोस्रो सिफ्ट साढे ११ देखि ४ बजे सम्म चल्नेछ । यो सिफ्टमा नेपाली माध्यम र टेक्निकलका कक्षहरु सञ्चालनमा हुनेछन् । प्रधानाध्यापक टंकबहादुर महत सरकारले लागु गरेको स्मार्ट लकडाउन अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघबीच पूर्व तयारी र सतकर्ताका विषयमा बृहत छलफल गरेर विद्यालय खुलेको बताउँछन् ।

कोभिड—१९ संक्रमणको जोखिम कायमै रहेकोले उच्च सतकर्ता अपनाएर मात्र विद्यालय चलाउन चिकित्सहरुले सुझाव दिएका छन् । तेस्रो भेरियन्ट बालबालिका लक्षित भएकोले बालबालिकालाई सुरक्षित राख्नु अहिलेको चुनौती भएको उनीहरुले बताएका हुन् । बालबालिकाको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएकोले अत्याधिक रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्न आग्रह गरिएको छ ।

विद्यालय खुलाउनको लागि विद्यार्थी बोलाउन घरदैलोमा पुग्ने गरेको सीता मावि रारालिहीका प्रधानाध्यापक शिवप्रसाद पाण्डे बताउँछन् । उनले भने, ‘लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढ्ने बानी बिग्रिसकेको छ । पहिलो चरणमा विद्यार्थीको बानी परिवर्तनमै जोड दिने सोच बनाएका छौं ।’

जुम्लामा कोभिड—१९ संक्रमणका कारण १४ जनाको मृत्यु भयो भने १८ सय बढीलाई कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनको तथ्यांक छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ