२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य विमाको पहुँच बाहिर डोल्पाका नागरिक

स्वास्थ्य विमाको पहुँच बाहिर डोल्पाका नागरिक


जुम्ला—डोल्पामा स्वास्थ्य विमा अभिकर्ता नहुँदा जिल्लाका अधिकांश नागरिक स्वास्थ्य विमाको पहुँचबाट बाहिर रहेका छन् । आठ स्थानीय तह रहेको जिल्लामा विमा अभिकर्ताहरूले काम गर्न छोडेपछि समस्या भएको जिल्ला स्वास्थ्य विमा वोर्डका संयोजक राजन डाँगीले बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयअन्तर्गत स्वास्थ्य विमा वोर्डका संयोजक डाँगीका अनुसार स्वास्थ्य विमा गर्नेहरूमा महिला १ हजार ३ सय ७८, पुरुष १ हजार २ सय ८२ जना रहेका छन् । हाल सम्म ६ सय ९४ घरधुरीका २ हजार ६ सय ६० जनाले मात्र विमा गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

विमितमध्ये ज्येष्ठ नागरिक महिलाको संख्या ६५ र पुरुषको संख्या ५२ रहेको छ । अति गरिबीको रेखामुनि रहेकाको संख्या पुरुष ४ र महिला ३ जना छन । यसैगरी पूर्ण रुपमा अशक्त घरपरिवारका पुरुष ३७ र महिला ३६ जनाले स्वास्थ्य विमा गरेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाका १ सय ३ परिवारलाई सरकारले ५० प्रतिशत विमा गरिदिएका छ । बाँकीलाई सरकारले सतप्रतिशत विमा गरेको स्वास्थ्य विमा संयोजक डाँगीले बताए ।

त्रिपुरा सुन्दरी नगरपालिका–१ की ७६ वर्षीया पुना देवी न्यौपानेले आफ्नो अहिलेसम्म स्वास्थ्य विमा नगरिएको बताइन् । ‘हामी ज्येष्ठ नागरिकलाई स्वास्थ्य विमा गरिन्छ रे मेरो पनि गर्नुप¥यो बाबु भनेर स्वास्थ्य केन्द्र त्रिपुराकोटका इन्चार्ज रमेश केसीलाई भनेकी थिए । तर, विमा गर्ने मान्छे नै छैनन् पो भने,’ उनले भनिन् ।

८ वटा स्थानीय तह रहेको जिल्लामा सदरमुकाम दुनै आसपासका ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका केही ज्येष्ठ पुरुष तथा महिलाहरूले विमा गरेपनि अधिकांश पालिकाका नागरिकले स्वास्थ्य विमा नगरेको जिल्ला स्वास्थ्य विमा संयोजक डाँगीले जानकारी दिए ।

संघीयता लागुसँगै प्रत्येक पालिकाहरूमा स्वास्थ्य विमा गराए बापत विमितहरूको संख्याको प्रतिशतको आधारमा मात्र पारिश्रमिक पाउने गरी नियुक्ति गरिएका विमा अभिकर्ताहरूले काम गर्न छाडेपछि समस्या भएको हो ।

त्रिपुरा सुन्दरी नगरपालिकामा नियुक्ति पाएकी विमा अभिकर्ता विवेचना गौतमले भनेको समयमा विमितले विमा गरिदिन प्रत्येक वडामा जानुपर्ने तर पारिश्रमिक भनेको समयमा नपाइने भएपछि अभिकर्ता काम छाडेर शिक्षण पेशामा लागेको बताइन् ।

स्वास्थ्य सेवा कार्यालयमा रहेको स्वास्थ्य विमा वोर्डअन्तर्गत स्थायी संरचना नभएकाले स्वास्थ्य मन्त्रालयबाट काजमा एक जना र स्वाथ्य विमा वोर्डबाट एक जना गरी दुई जना भएपनि एक जना दैलेखमा काजमा गएदेखि फिर्ता नभएकाले पनि काममा समस्या भएको जनाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ