२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा आधारभूत अस्पतालको निर्माण सुस्त गतिमा, २७ पालिकामा निर्माण हुँदैं

कर्णालीमा आधारभूत अस्पतालको निर्माण सुस्त गतिमा, २७ पालिकामा निर्माण हुँदैं


वीरेन्द्रनगर—तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वकांक्षी योजनासाथ प्रत्येक पालिकामा निर्माण शुभारम्भ गरेको एक आधारभूत अस्पतालको निर्माणको काम कर्णाली ढिलासुस्ती भइरहेको छ । १७ मंसिर ०७७ मा ओलीले देशभरका स्थानीय तहमा एकसाथ शिलान्यास गरेको आधारभूत अस्पतालको निर्माणको काम ढिलाइ भएको हो ।

प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइएपनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ ।

कर्णाली प्रदेशका स्थानीय तहमा संघीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने काम अझै गति लिन सकेको छैन । २९ महिना बित्तिसक्दा पनि निर्माणले गति लिन नसकेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट गरि बजेट पठाइएको थियो ।

त्यस्तै, दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजनाका साथ बजेट पठाइएको थियो । कर्णालीमा अहिलेसम्म ३५ वटा अस्पतालको निर्माण प्रक्रिया आएका छन् । २७ वटा अस्पतालको सम्झौता भई बजेट निकासा भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

२०७७ सालमा भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास भएका थिए ।

कर्णालीमा आधारभूत अस्पताल निर्माणका लागि छनौटमा परेका ६६ पालिकामध्ये ६ वटा पालिकाले डिपिआर समेत तयार पारेका छैनन् । डिपिआर तयार नपार्ने पाालिकामा सल्यान जिल्लाका बागाचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, डोल्पा जिल्लाका मुड्केज्यूला गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका हुम्ला जिल्लाका नाम्खा गाउँपालिका र अदानचुली गाउँपालिका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ