२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसमयमा अस्पताल पुर्‍याउन नसक्दा हुम्लामा नवजात शिशुको मृत्यु

समयमा अस्पताल पुर्‍याउन नसक्दा हुम्लामा नवजात शिशुको मृत्यु


जुम्ला—हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँकी ३६ वर्षीया सत्या शाहीलाई समयमै जिल्ला अस्पताल हुम्लामा पुर्‍याउन नसक्दा शिशुको मृत्यु भएको छ । १५ बैशाख विहानदेखि प्रसुति व्यथाको लक्षण देखा परेपनि गाउँमा वर्थिङ सेन्टर नभएपछि शिशुको मृत्यु भएको उनका श्रीमान कृष्ण शाहीले बताए ।

प्रसव पीडाले छटपटाई रहेकी महिलालाई जिल्ला अस्पताल हुम्लामा स्टेचरमार्फत लैजाने क्रममा बीच बाटोमै मृत शिशु जन्माएको श्रीमान शाहीले बताए ।

उनका अनुसार गाउँमा स्वास्थ्य संस्था भएपनि वर्थिङ सेन्टर नभएकै कारण शिशुलाई गुमाउनु परेको छ । उनले सुत्केरी व्यथा लागेकी श्रीमतीलाई सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा लैजानका लागि सिमकोट गाउँपालिका स्वास्थ्य शाखालाई गाडीको व्यवस्था गरि दिन भन्दै अनुरोध गरे पनि गाडीको व्यवस्था ढिलाइ भएकै कारण शिशुको मृत्यु भएको आरोप लगाए ।

शाहीले भने, ‘गाउँसम्मै सडकले नछोएको भएपनि दुई घण्टासम्म स्टेचरमा हालेर लिने र त्यसपछि गाडीको व्यवस्था गर्ने भनेको थियोे । तर, गाडी सञ्चालन हुने स्थानमा नपुग्दै मृत शिशु जन्मिएको हो ।’

गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा उक्त बिरामीको कुनै पनि औषधि नभएको र बिरामीको अवस्था जटिल भएकै कारण सोही दिन रिफर गर्नुपरेको सामुदायिक स्वास्थ्य इकाई खोल्सीका प्रमुख धिरन शाहीले बताए ।

त्यस्तै, गाडीको व्यवस्था भएर पनि गाडी सुविधा भएको स्थानसम्म नपुग्दै शिशुको मृत्यु भन्ने खबर सुनिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताए ।

सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाका अनुसार आफूले गाउँपालिकालाई गाडीको व्यवस्था गर्ने अनुरोध गरेको हो तर शिशुको बीच बाटोमै मृत्यु भएको बताए । सडक नपुगेकै कारण अकालमा ज्यान गुमाउनु परेको उनले बताए । सुविधा सम्पन्न सडक निर्माणका लागि गाँउपालिकाले पर्याप्त बजेटको व्यवस्था गरिनु पर्ने उनको भनाइ छ ।

शिशु गुमाएकी बिरामीको हाल सिमकोट गाउँपालिका–७ स्थित सामुदायिक स्वास्थ्य इकाई चौगानफयामा उपचार भइरहेको सोही इकाईका प्रमुख जानबहादुर शाहीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ