२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुम पश्चिम जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु

रुकुम पश्चिम जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु


वीरेन्द्रनगर—रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा सुरु भएको छ । जिल्ला अस्पतालले चैत महिनादेखि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो ।

जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा दिन थालिएपछि हाडजोर्नी तथा नसाको समस्या भएका बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

जिल्लामै फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको मुसीकोट नगरपालिका–९ सिता वलीले बताइन् । ‘ढाड र कम्मरको उपचारका लागि महिनामा दुई पटक दाङ वा नेपालगञ्ज जानैपर्ने बाध्यता हटेको छ,’ उनले भनिन्, ‘जिल्लामा नै उपचार सेवा पाउँदा खुसी लागेको छ ।’

जिल्लामै पहिलो पटक सुरु भएको फिजियोथेरापी सेवा लिने बिरामीको संख्या बढिरहेको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले बताइन् । ‘दुई महिनामा ५५० बिरामीले फिजियोथेरापी अर्थात भौतिक चिकित्सा सेवा लिएका छन्,’ उनले भनिन्, ‘फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नीको उपचारसँगै नसासम्बन्धी समस्या भएका बिरामीले पनि सेवा लिइरहेका छन् ।’

अहिले अस्पतालमा हाडजोर्नी सुन्निने, ढाड र घाँटीको दुखाइ, हड्डी भाँचिएका, नसाको समस्या भएका बिरामी दैनिक २० देखि २५ जनासम्म आउने गरेको श्रेष्ठले जानकारी दिइन् । ‘नसा चुँडिएको, खुम्चिएको, च्यापिएको र मासु च्यातिएका बिरामीलेसमेत फिजियोथेरापी सेवा लिन आउने गरेका छन्,’ उनले भनिन्, ‘हड्डी भाँचिएका, कम्मर तथा ढाडको दुःखाइ भएका र हाडजोर्नी सुन्निने समस्या भएका ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ