२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


वीरेन्द्रनगर—कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

सोमबार विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका थिए । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय विदा गरिएको र कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए ।

‘पादमघाट अत्याधिक गर्मी हुने ठाउँ हो,’ उनले भने, ‘विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि हामीले अहिले विद्यालय बन्द गरेका छौं ।’

विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताए । ‘१० वर्षदेखि १४ वर्षसम्म उमेर समूहका बालबालिका बेहोस भएका हुन्,’ उनले भने,‘कक्षाकोठामा पढिरहेको अवस्थामा विद्यार्थी बेहोस भएका थिए ।’

गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताए । ‘जटिल समस्या होइन,’ उनले भने, ‘सुख्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ ।’ केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधाभूरत अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ