२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीको बजेटः सबै जिल्ला अस्पताललाई ५० शैय्याको अस्पताल बनाइने

कर्णालीको बजेटः सबै जिल्ला अस्पताललाई ५० शैय्याको अस्पताल बनाइने


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रममा कर्णालीका सबै जिल्ला अस्पतालमा ५० शैय्याको बनाउने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा कर्णालीका १० वटै जिल्लामा ५० शैय्याको अस्पताल निर्माण गरिने उल्लेख छ ।

सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने र कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शैय्या अस्पताल बनाइने लक्ष्य लिएको मन्त्री सिंहले जानकारी दिए । ‘सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।’

सल्यान, रुकुमपश्चिम, डोल्पा र दैलेखमा स्वास्थ्य सम्बन्धी निर्माणाधीन वहुवर्षीय पूर्वाधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । ‘सुत्केरी पोषण कार्यक्रम, पोसिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य विमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ,’ आर्थिक मामिलामन्त्रीले भने, ‘बजेटमा मिर्गौला डायलाइसिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपूर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।’

यसैगरी, महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । ‘टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाइनेछ । खोप अभियानलाई तीव्र बनाई आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने छ,’ उनले भने, ‘महिला स्वास्थ्य स्वंयसेविकालाई वार्षिक १० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइने भएको छ ।’

सामुदायिक स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्न २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । ‘आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढीकरण गरिनेछ,’ उनले भने, ‘सबै जिल्लामा आयुर्वेद अस्पताल निर्माण गरिनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ