२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाकाली अस्पतालमा आईसीयु संचालनमा ल्याइएको प्रदेश सरकारको विवरण गलत

महाकाली अस्पतालमा आईसीयु संचालनमा ल्याइएको प्रदेश सरकारको विवरण गलत


धनगढी—सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारले दुई वर्षको अवधिमा हासिल गरेका महत्वपूर्ण उपलब्धीमा कञ्चनपुरको महाकाली अस्पतालमा आईसीयु सञ्चालन गरिएको उल्लेख गरेको छ । प्रदेश सरकार गठन हुनुपूर्व २०७२ सालमै महाकाली अस्पतालले खरिद गरेका आईसीयुका उपकरण चार वर्षदेखि प्रयोगबिहीन रहेका बेला प्रदेश सरकारले सेवा सञ्चालमा आएको भन्दैं आफ्नो दुई वर्षे महत्वपूर्ण उपलब्धिमा राखेको हो ।

तर, महाकाली अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले आईसीयु सेवा सञ्चालनमा आउन नसकेको पुष्टी गरे । उनले सेवा सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नै व्यवस्थापन गर्न नसकिदा आईसीयु उपकरण चारवर्षदेखि थन्किएको स्वीकार गरे । ‘आईसीयु सेवाका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा अस्पताल जुटिरहेको छ,’ उनले भने, ‘त्यसैका लागि स्टाफ नर्सहरुलाई तालिममा पठाउने तयारी गरेका छौं । त्यसपछि मात्र सेवा सञ्चालनमा ल्याउँछौं ।’

महाकाली अस्पतालले सघन उपचार कक्ष आईसीयु सेवा सञ्चालन गर्ने भन्दै २०७२ सालमा उपकरण खरिद गरेको थियो । तर, चार वर्षसम्म उपकरणसमेत जडान नभएका बेला सुदूरपश्चिम सरकारले भने महत्वपूर्ण उपलब्धि भन्दै सेवा सञ्चालनमा आएको झुटो विवरण सार्वजनिक गरेको हो ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने सामाजिक विकास मन्त्रालयबाट विवरण मागिएकाले थप कुरा उसैलाई थाहा हुने भन्दै पन्छिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सूचना अधिकारी जगदिशप्रसाद जोशीले सामाजिक विकास मन्त्रालयले पठाएको विवरणका आधारमा प्रगतिमा राखिएको दावी गरे । उनले बाँकी कुरा उत्तै बुझ्न आग्रह गरे ।

सामाजिक विकास मन्त्रालयले पनि उक्त विषयमा अनभिज्ञता प्रकट गरेको छ । मन्त्रालयले महाकाली अस्पतालमा सेवा सुचारु नभएको कुरा स्वीकार गरेपनि प्रगतीमा कसरी उल्लेख भयो भन्ने कुरा अध्ययन गरेर मात्रै भन्न सकिने जनाएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले प्रतिवेदनमा कसरी उल्लेख भयो भन्ने विषयमा अध्ययन गर्ने बताए । वर्षौदेखि कञ्चनपुरवासी आईसीयु सेवा पाउने आशामा बसेका बेला सरकार भने कागजमा सेवा सुचारु गरिससकेको झुटो विवरण प्रस्तुत गरेको हो ।

आईसीयु सेवा सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि नेपाल मेडिसिटी हस्पिटल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य भैरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज जोशीले बताए । ‘आईसियु सेवा सञ्चालनका लागि आवश्यक पर्ने केही चिकित्सक आइपुगेपनि थप विशेषज्ञ चिकित्सक चाहिने भएकाले व्यवस्थापनमा लागिरहेछौं,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन भए आउँदो बैशाखदेखि सेवा सञ्चालनमा ल्याउँछौं ।’

अस्पतालमा आईसीयु सञ्चालनमा नआउँदा कञ्चनपुरसहित त्यस क्षेत्रका वासिन्दाले आईसीयु सेवाका लागि सीमावर्ती भारतीय बजार र धनगढी, नेपालगञ्जलगायतका अस्पताल धाउनुपर्ने बाध्यता रहेका छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ