२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीमा पनि मास्कमा कालो बजारी, श्रृङ्गार पसललाई दुई लाख जरिवाना

धनगढीमा पनि मास्कमा कालो बजारी, श्रृङ्गार पसललाई दुई लाख जरिवाना


धनगढी—कोरोनाको सन्त्रास फैलिएपछि धनगढीमा पनि मास्कमा कालोबजारी बढेको छ । ६ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँसम्ममा बिक्री गरेको फेला परेको छ ।

मास्कमा कालोबजारी गरेको गुनासोपछि धनगढीमा बजार अनुगमन समेत गरिएको छ । सोही क्रममा धनगढीको मुख्य बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले दुई लाख जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीका प्रमुख कमल पुनले भने, ‘उक्त श्रृङ्गार पसलले ६ रुपैंयाँ पर्ने मास्कलाई ३० रुपैंयाँमा बेच्ने गरेको, श्रृङ्गारका सामाग्रीमा लेबल नतोकिएको, म्याद गुज्रेका सामाग्री बेचेको पाइएपछि जरिवाना तोकिएको हो ।’ २०१७ म्याद भएका सामान अहिलेसम्म बिक्री गरेको समेत भेटिएको प्रमुख पुनले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८, ङ का आधारमा कसुर खण्डको १ (ख) बमोजिम उनलाई अनुगमन स्थलमै दुई लाख जरिवाना गरिएको वाणिज्य कार्यालय कैलालीका प्रमुख पुनले बताए । सो दफा अनुसार उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेमा दुई लाखदेखि तीन लाखसम्म जरिवाना गर्ने सकिने प्रावधान रहेको छ ।

उक्त श्रृंगार पसलमा वाणिज्य कार्यालयका कर्मचारी ग्राहक बनेर जाँदा पसल सञ्चालकले ६ रुपैयाँ पर्ने मास्क ३० रुपैयाँमा बेचेका थिए । कार्यालय प्रमुख पुनले धनगढीका अन्य श्रृङ्गार पसल तथा केही फार्मेसीमा समेत अनुगमन गरेको बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ