२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपाल्पाको तानसेनमा डायलाइसिस सेन्टर तयार

पाल्पाको तानसेनमा डायलाइसिस सेन्टर तयार


बुटवल—गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तानसेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाइसिस सेन्टर स्थापना भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाइसिस सेन्टरले चैत ७ गतेदेखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाइसिस मेसिन जडानलगायतका सम्पूर्ण कामहरु पूरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए ।

हाल १० वटा मेसिनबाट बिरामीहरुको मिर्गौला डायलाइसिस गरिने र आवश्यकताको आधारमा थप मेसिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए । पाल्पा सामुदायिक डायलाइसिस सेन्टरका संयोजक बाबुराम बोहराले तानसेनमा डायलाइसिस सेवा शुभारम्भ भएपछि बिरामीहरुको आर्थिकसँगै समयको बचत हुने छ भने डायलाइसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए ।

१० वटा मेसिनसहित तानसेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मिर्गौलाका बिरामीहरु लाभान्वित हुनेछन् । करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट दैनिक ३० जना बिरामीको नियमित डायलाइसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।

हाल पाल्पा गुल्मीलगायतका जिल्लाबाट ६४ जना बिरामी नियमित डायलाइसिसको लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्षदेखि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिनादेखि दाङको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ