२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलक्षण बिना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक अन्योलमा

लक्षण बिना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक अन्योलमा


धनगढी-कुनैपनि लक्षण बिना नै कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिन थालेपछि चिकित्सक कस्ता बिरामीको नमूना संकलन गर्नेबारे अन्योलमा परेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरानाको संक्रमण देखिएका धनगढीका ३४ वर्षीय युवककी भाउजुलाई बिना कुनै लक्षण कोरोना ’पोजेटिभ’ देखिएको हो ।

कुनै लक्षण नभएको मानिसमा पनि कोरोना पोजेटिभ देखिएपछि उपचारमा संलग्न चिकित्सकहरु नै अन्योलमा परेका हुन् । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतयाः खोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदैं आएका छन् ।

तर, ती महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन् । सेती अस्पतालका आकस्मिक विभाग प्रमुख चिकित्सक डा. जगदिश जोशीका अनुसार ती महिलामा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएको थिएन तर संक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो ।

उनले शनिबार मात्रै कोरोना पुष्टि भएका अन्य दुई जनामा पनि कोरोनाको खासै लक्षण नदेखिएको बताए । यसअघि कोरोना भाइरस कोभिड १९ को संक्रमण भएका धनगढीका ३४ वर्षीय युवाका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाइएको थियो । पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्चिम झनै त्रासमा छ ।

सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा पुगेको छ । यसको मतलब विदेशबाट आएकामा मात्र नभई स्थानीय मै पनि कोरोना संक्रमण देखिएको छ । नेपालमै कुल संक्रमण ९ पुगेको अवस्थामा सुदुरपश्चिममै संक्रमितको संख्या ४ पुगेपछि र स्थानीयमा समेत कोरोना संक्रमित फेला परेपछि सुदूरपश्चिममा थप चुनौती बढेको छ ।

सुदूरपश्चिमका अधिकांश जिल्ला भारतसँग जोडिएका जिल्ला हुन् । ठूलो संख्यामा आफ्नो रोजीरोटीका लागि सुदूरपश्चिमका युवाहरु वैदेशिक रोजगारीको क्रममा जान्छन् । जसमा ठूलो संंख्या भारत जानेको छ । उनीहरु मध्ये धेरै जना लकडाउनको केहि दिन अघि वा लकडाउनकै चरणमा बिभिन्न बाटो गरी नेपाल भित्रिएको बताइएको छ । फागुन तेस्रो सातायता सुदूपश्चिममा मात्रै १ लाख ४२ हजार नागरिक बिभिन्न नाका भएर नेपाल फर्केका थिए । यसरी नेपाल छिरेका मध्ये अधिकांश सुदूरपश्चिमका नै छन् ।

शनिबार भेटिएको संक्रमित स्थानीय महिलामा कुनै लक्षण नदेखिँदा पनि कोरोना पोजेटिभ भेटिएपछि अझै चुनौती थपिएको छ । कैलाली घर भएका एक कोरोना संक्रमित २१ वर्षीय युवा भारतको मुम्बईबाट १२ गते धनगढीको गौरीफन्टा नाका हुँदै घर पुगेका थिए । तर, घर पुगेलगत्तै उनलाई छिमेकीहरूको बलमा क्वारेन्टाइनमा पुर्याइएको थियो ।

त्यस्तै, अर्का एक व्यक्ति भारतबाटै महाकाली नदीमा ट्युवको सहायताले तर्दै नेपाल प्रवेश गरेका थिए । उनीसँगै अरु ११ जना पनि नेपाल प्रवेश गरेका थिए । ससस्त्र प्रहरीले उनीहरुलाई गड्डाचौकीस्थित हेल्थ डेस्कमा जाँच गरेर सार्वजनिक गाडीमा राखेर वेदकोट नगरपालिका–१० सुन्दरपुरको कृषि पाइलट फर्ममा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको थियो ।  उनीहरुलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । पक्राउ गरेको चैत १४ गते हो भने संक्रमित पुष्टि भएको चैत २२ गते हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ