२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोना विरुद्ध हातेमालो गराैँ : मन्त्री ढकाल

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोना विरुद्ध हातेमालो गराैँ : मन्त्री ढकाल


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिककातर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताएका हुन् ।

उनले सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए  । उनले भने, ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ।’ उनले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको जानकारी दिए । मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।

उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको  काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको बताए । मन्त्री ढकालले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र संचालनमा ल्याइएको जनाए । उनले भने, ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।’

मन्त्री ढकालले स्वास्थ्यका केही सामाग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामाग्री संकलन गरेर सम्बन्धित ठाउँमा पुर्याउने काम भैरहेको उल्लेख गरे । उनले कोरोनाको विरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको बताउँदै यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले रोगबाट जोगिन सकियो र नेपाली जनतालाईपनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिने भन्दै अहिले हिलो छ्याप्ने काम बन्द गर्न अनुरोध गरे ।

‘एनएमबी ग्रुप’ले चीनबाट ल्याएको सात सय थान ‘पिपिइ’ हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पिपिइ हस्तान्तरण गरेको छ । संकटको समयमा सरकारलाइ सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुबै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । ‘पिपिइ’ हस्तान्तरण कार्यक्रममा शहरी विकास राज्यममन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थित थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ