२०८३ भदौ ४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यशहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न

शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न


काठमाडौं—शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा नवनियुक्त कार्यकारी निर्देशकको स्वागत तथा पूर्व निर्देशकको विदाइ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अस्पतालको कर्मचारी युनियनले एक कार्यक्रमको आयोजना गरी नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष गोविन्द अमात्यको स्वागत गरिएको थियो ।

यस्तै, निवर्तमान निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलालाई सम्मान गरिएको थियो । दुई वर्ष चार महिना केन्द्रको कार्यकारी निर्देशक रहेका पूर्व निर्देशक डा. रवि मल्ललाई विदाइ गरिएको थियो ।

गंगालालको झण्डै दुई वर्ष चार महिना नेतृत्वका गरेका डा. रवि मल्लले सबैको सहयोगमा आफूले केन्द्रमा काम गरेको बताए । ‘यहाँहरु सबैको सहयोगमा केही काम गर्न सकियो । म आउँदा डेढ करोड घाटामा रहेको संस्थालाई फाइदामा ल्याएको छु,’ उनले भने, ‘पैसा नभएका बिरामीले उपचार नपाएर फर्किनु नपरोस् भनेर मैले काम गरे ।’ उनले आगामी दिनमा पनि केन्द्रमा उपचार गर्न आउने बिरामीले पैसाको अभावमा फर्केर जानु पर्ने अवस्था आउन नदिन आग्रह गरे । अवकास पनि भएका डा. मल्लले केन्द्रले वातावरण बनाइदिएमा आफूले चार दिने केन्द्रमा स्वयंसेवा गर्ने उल्लेख गरे ।

निवर्तमान निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाले बिरामीले माग राख्न नसक्ने भएकाले बिरामीलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने बताए । ‘यहाँ अस्पतालमा अरु सबैले माग राख्न सक्छन्, बिरामीले राख्न सक्दैन्,’ उनले भने, ‘त्यहीकारण बिरामीलाई केन्द्रमा राखेर सेवा दिनुपर्छ ।’ उनले आफ्नो छोटो कार्यकालमा इमर्जेन्सीका बिरामीका लागि विशेष व्यवस्था गरिएको बताए । उनले उपचार खर्च व्यवहोर्न नसक्ने बिरामीहरुका लागि ७५ लाख रुपैयाँ सहयोग जुटाइएको र १ करोड रुपैयाँ महानगरपालिकाले दिने प्रतिवद्धता जनाएको उल्लेख छ ।

नवनियुक्त कार्यकारी निर्देशक डा. अमात्यले आफूले ३० वर्षदेखि चलिआएको संस्थामा नयाँ प्रगतिको इट्टा थप्ने बताए । ‘यो संस्था ३० वर्षदेखि अग्रजहरुको परिश्रमबाट यहाँ आइपुगेको हो,’ उनले भने, ‘हामीले यसमा नयाँ इट्टा थप्छौं ।’

कार्यक्रममा युनियनले स्वागत पाउने, विदाइ हुने र सम्मान पाउने व्यक्तित्वलाई खादा र प्रशंशापत्र प्रदान गरेको थियो ।

सो क्रममा डा. मल्लले केन्द्रको कार्यकारी निर्देशक रहँदा गरेका कार्यहरुको विवरण प्रस्तुत गरिएको थियो । युनियनले डा. मल्लको कार्यकालमा कर्मचारीको हितमा विभिन्न कार्यहरु भएको विवरण कार्यक्रम सार्वजनिक गरेको थियो । जसमा केन्द्रमा कार्यरत कर्मचारी र उनीहरुको परिवारका पाँच जना सदस्यका लागि १ लाखको स्वास्थ्य बीमा केन्द्रले गर्ने व्यवस्था गरेको, नागरिक लगानी कोषबाट केन्द्रका कर्मचारीले ७० प्रतिशत ऋण सुविधा लिन सक्ने व्यवस्था मिलाइएको, प्रसूतिमा कर्मचारीलाई दश हजार शिशु स्याहार भत्ता दिने, किरिया खर्च र विदा उपलब्ध गराउने, कर्मचारीको महंगी भत्ता उपलब्ध गराइएको, लामो समयदेखि केन्द्रमा कार्यरत ६४ जना अस्थायी कर्मचारी स्थायी गराउन पहल भएको, ओएण्डएम सर्वे अन्तिम चरणमा रहेको उल्लेख छ ।

यस्तै, डा. मल्लको कार्यकालमा केन्द्रमा ४ वटा ओपीडी टिकट काउण्टर सञ्चालनमा ल्याइएको, ओपीडीमा आउने बिरामीलाई इकोबाहेकका रिपोर्ट सोही दिन दिने व्यवस्था गरिएको, बिरामीको स्याम्पल १५ मिनेटमा संकलन हुने व्यवस्था गरिएको, जयन्ती मेमोरियल ट्रष्टमार्फत जेष्ठ नागरिक सहायता कक्ष र स्तनपान कक्ष सञ्चालनमा ल्याइएको, ११ शय्याको नयाँ सिसियु लेभल ४ सञ्चालनमा ल्याइएको, इमर्जेन्सीमा ५ शय्या विस्तार गरिएको जानकारी सो क्रममा दिइएको थियो ।

यस्तै, दातामार्फत तीन तले भवन निर्माण गरी डे केयर सञ्चालन गरिएको, पहिलो तलामा क्याथ ल्याब कक्ष निर्माण गरिएको, नाइट ड्युटी गर्ने स्वास्थ्यकर्मीको ड्युटी कोठा व्यवस्थित गरिएको, ५ वटा शल्यक्रिया कक्ष निर्माणको चरणमा रहेको, पाँचौ क्याथल्याब सञ्चालनका लागि तयारी भइरहेको, कुरुवा घरमा एक तला थपिएकोलगायतका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ