२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना विरुद्धका ५५ दिन : एक २४ वर्षीया चिकित्सकको मार्मिक अनुभूति

कोरोना विरुद्धका ५५ दिन : एक २४ वर्षीया चिकित्सकको मार्मिक अनुभूति


डा. अस्मिता भट्टराई । उमेरले मात्र २४ वर्षकी भइन् । सुर्खेत प्रादेशिक अस्पतालकी मेडिकल अफिसर उनलाई कोरोना महाव्याधिसँगै सुर्खेतको चिङगाड गाउँपालिकास्थित अवलचिङ स्वास्थ्य केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी दिइयो । कोरोनाकालका पछिल्ला ५५ दिन चिङगाडको प्राथमिक स्वास्थ्य केन्द्रमा काज जिम्मेवारी पूरा गरेर दुई दिनअघि मात्रै उनी सुर्खेत प्रादेशिक अस्पतालको पुरानै जिम्मेवारीमा फर्किएकी छिन् ।

‘नयाँ डाक्टर जानुभएपछि म सुर्खेत फर्किएको दुई दिनमात्रै भयो,’ हेल्थआवाजसँगको कुराकानीमा उनले सुनाइन्, ‘यो चुनौतीका बेला मैले थुप्रै नयाँ र फरक अनुभव संगाल्ने अवसर पाए ।’ लामो समयदेखि चिकित्सकबिहीन रहेको चिङगाड गाउँपालिकाको समग्र स्वास्थ्यको कमाण्ड व्याधिकालमा पक्कै सजिलो थिएन् । अझ उनी आफैसँग पनि ग्रामीण क्षेत्रमा काम गरेको र नेतृत्व गरेको अनुभव पनि थिएन् । नेपालगन्ज मेडिकल कलेजबाट सुर्खेत अस्पताल हुँदैं केही महिनामै उनी अवलचिङ स्वास्थ्य केन्द्रको नेतृत्व सम्हाल्न पुगेकी थिइन् ।

गाउँपालिका पुगेलगतै उनले औषधि, उपकरण जोहो गर्नेदेखि सम्भावित कोरोना जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन निर्माणको पहल थालिन् । त्यतिबेलासम्म त्यहाँ क्वारेन्टाइनहरुमात्रै बनाइएका थिए । १२ जना कर्मचारीको नेतृत्व गर्दै ओपीडी, इमर्जेन्सी र क्वारेन्टाइनको निगरानीदेखि आइसोलेसन निर्माणसम्मको कार्यभारलाई सँगसँगै अगाडि बढाइन् । क्रमसः भारतबाट आउने नेपालीको संख्यामा वृद्धि हुन थाल्यो । क्वारेन्टाइनहरु भरिन् थाले । ‘म त्यहाँ गएको एक महिनापछि चिङगाड गाउँपालिकामा कोरोना पोजेटिभ पहिलो केस देखियो,’ उनले सुनाइन्, ‘त्यसपछि कोरोना संक्रमितहरु थपिदैं २१ जना पुगे ।’ जसमध्ये एक जनालाई अलि बढी असजिलो हुने देखिएपछि रिफर गरेर सुर्खेत प्रादेशिक अस्पतालमा पठाइयो ।

सानो टिम । कम उमेरमै भएपनि डा. अस्मिताले नहडबडाइकन चुस्त व्यवस्थापन गरिन् । २० जना संक्रमित र १ हजार बढी क्वारेन्टाइनमा रहेकाहरुको उपचारदेखि निगरानीसम्मलाई व्यवस्थित बनाइन् । ‘सबैले टिम स्प्रीरिटका साथ काम गर्नुभयो, मैले गाउँपालिकाका पदाधिकारीदेखि कर्मचारीसम्म सबैको सहयोग पाएँ,’ उनले भनिन् । संक्रमितको व्यवस्थापन र रेखदेखको चुनौतीपूर्ण कार्य त एकातिर छदैं थियो, अर्कोतिर क्वारेन्टाइनमा रहेकाहरुमा देखिने स्वास्थ्य समस्या निदानको जिम्मेवारी पनि उनकै टिमलाई थियो । क्वारेन्टाइनका रहेकाहरुमा पखाला लाग्ने, टाउको दुख्नेलगायतका समस्या देखिरहन्थे । त्यसबाहेक गाउँलेहरुको स्वास्थ्य समस्या समाधानका लागि डा. अस्मिताको टिम नै एकमात्र विकल्प थियो । संक्रमितको व्यवस्थापन, उपचारदेखि क्वारेन्टाइनको निगरानीसम्मका कामका उनी साँझदेखि विहानैसम्म तल्लीन रहिन् ।

स्टाफहरुलाई रोटेशन मिलाएर परिचालन गरिन्, सुरुवातमा ड्युटीमा खटिने दुई जना स्टाफलाई नै पोजेटिभ देखिएपछि उनीहरुले नै संक्रमित राखिएको आइसोलेसन हेर्ने जिम्मेवारी लिए । ‘उहाँहरुले आइसोलेसन हेर्नुभयो । संक्रमित स्टाफहरुको यो सहकार्य देखेर म निकै हर्षित छु,’ उनी सुनाउँछिन् । डा. अस्मिताले आइसोलेसनमा संक्रमित बनेर खटिरहेका स्टाफहरुलाई पनि केही समस्या आएपछि ‘म छु है’ भनेर मोटिभेट गरिरहिन् । तर, सबै राम्रो भएर गयो, कसैलाई केही समस्या देखिएन् । क्वारेन्टाइनमा रहेको ठूलो संख्या र कसैलाई १४ दिनभन्दा बढी समय पनि राख्नु परेको अनुभव उनले बाँडिन् ।

समुदायमा कोरोना नफैलियोस भनेर उच्च सतर्कता अपनाइयो । आइसोलेसन र क्वारेन्टाइन प्रोटोकलअनुसार क्वारेन्टाइनबाट आरडिटी गरेर फर्किकालाई होम आइसोलेसनमा बस्ने सल्लाह दिएर पठाइयो । संक्रमितहरु राख्ने आइसोलेसन बस्तीभन्दा अलग्गै बनाइएको थियो । आइसोलेसन एरियामा पनि ब्यानरहरु राखेर स्वास्थ्यकर्मीबाहेक अरुलाई जान प्रतिबन्ध लगाइयो । स्वास्थ्यकर्मीहरुका लागि पनि पूर्णतयाः सुरक्षा प्रोटोकलको अनुशरण गरिएको उनले सुनाइन् । ‘हामीलाई आवश्यक मात्रामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि उपलब्ध गराइएको थियो,’ डा. अस्मिता भन्छिन्, ‘जसले गर्दा संक्रमितको व्यवस्थापन पनि सहज बन्न पुग्यो ।’

यी सबै जिम्मेवारी पूरा गरेर फर्किनै लाग्दा उनको ‘मिसन एकम्पिस्ड’ हुनै लागेको थियो । उनी काज फिर्ता भएको भोलिपल्ट नै ९ जना आइसोलेसनमा रहेका कोरोना संक्रमित पनि निको भएर घर फर्किए । ‘कोरोना संक्रमण भएका २० जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो । कसैमा पनि गम्भीर खालको स्वास्थ्य समस्या देखिएन्,’ उनी भन्छिन्, ‘मैले काज फिर्ता लिएको भोलिपल्ट ९ जना डिस्चार्ज भएपछि कोरोना संक्रमित जति सबै निको भए ।’ अहिले चिङगाडमा शुन्य कोरोना संक्रमित भएको गाउँपालिका भएको छ । डा. अस्मिता आफ्नो मिसन पूरा गरेर ५५ दिनपछि सुर्खेत फर्किएकी छन् ।

कलिलो उमेरमै त्यो पनि महाव्याधिको बेला निभाउनुपरेको यो जिम्मेवारीबाट यी युवा डाक्टरलाई के हासिल गरेजस्तो लाग्छ ? भन्छिन्, ‘मलाई राम्रो अवसर थियो, सबै कुरा सिक्ने, लिड गर्ने, डिसिजन लिने र यस्तो चुनौतीपूर्ण समयमा काम गर्ने । टिम परिचालन, कोर्डिनेसन, व्यवस्थापन कसरी गर्ने भन्ने महत्वपूर्ण शिक्षा हासिल भयो । अहिले कन्फिडेन्ट बढेको छ ।’ सुर्खेत, काठमाडौं र नेपालगन्जजस्ता सहरमा पढेबढेकी डा. अस्मिताको जीवनमा यी ५५ दिन फरक र नौला थिए । एकदमै बेग्लै र फरक अनुभव उनले संगालिन् । ग्रामीण स्वास्थ्यमा रहेका चुनौती पनि उनले नजिकबाट देख्न पाइन् ।

‘हाम्रो ग्रामीण स्वास्थ्यको सबैभन्दा ठूलो चुनौती भनेकै चिकित्सकको अभाव रहेछ,’ उनले भनिन्, ‘चिकित्सक नहुँदा स्वास्थ्य चौकीमा आवश्यक सामानहरु थिएनन्, भएको सामान पनि प्रयोगमा आउन सकेको थिएन । नत बिरामीले नै आवश्यक स्वास्थ्य सेवा पाएका थिए ।’ ग्रामीण क्षेत्रको यही समस्याले त्यहाँका मानिसहरुका लागि स्वास्थ्यमाथिको पहुँचलाई टाढा पुर्‍याएको अनुभव पनि उनको छ । ‘मैले स्वास्थ्य चौकीमा पुगेपछि आवश्यक सामान मगाए, प्रयोगमा नआएका सामानहरु प्रयोगमा ल्याए,’ उनले सुनाइन्, ‘स्वास्थ्य चौकीका सबै सेवाहरु सन्चालनमा ल्यायौं ।’

यसबाहेक ग्रामीण क्षेत्रमा एम्बुलेन्स र औषधीहरु अभाव रहने गरेको उनले अनुभव गरिन् । ‘बिरामीहरुलाई सम्झाउन पनि समस्या थियो । विस्तारै हामीले त्यो काम पनि पूरा गर्न सक्यौं,’ उनी भन्छिन् । यो अवधिमा उनलाई जिम्मेवारीप्रतिको कर्तव्यबोध त एकातिर छदैं थियो, अर्कोतिर घर पनि उत्तिकै मिस गरिरहेकी थिइन् । ‘रेस्पोन्सबिलिटी लिएर काम गर्न कति गाह्रो हुँदोरहेछ भन्ने थाहा भयो । घरलाई पनि खुबै मिस गरे,’ उनले भनिन् । यो ५५ दिनमा उनले जति गरिन्, त्यसका लागि हामी यति भनौं—वाह अस्मिता क्याबात ।

को हुन डा. अस्मिता ?

डा. अस्मिता सुर्खेतको वीरेन्द्रनगरमा वि.सं. २०५२ साल कार्तिकमा जन्मिएकी हुन् । उनको प्रारम्भिक शिक्षाको सुरुवात स्थानीय भ्याली बोर्डिङ स्कुलबाट भएको हो । त्यसपछि उनले कक्षा ३ सम्मको अध्ययन चिल्ड्रेन प्याराडाइज स्कुलबाट पूरा गरिन् । कक्षा ९ सम्मको पढाइ सुर्खेतमै रहेको उषा बालवाटिका माध्यमिक विद्यालयमा भयो । कक्षा ९ को पढाइ सकेलगतै पारिवारिक कारणले उनको बसाइ काठमाडौं स¥यो । काठमाडौंको न्यु समिट हायर सेकेण्डरी स्कुल मैतीदेवीबाट वि.सं. २०६६ सालमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनी उच्च शिक्षाका लागि गोल्डगेट कलेजमा भर्ना भइन् । गोल्डेनगेटमा उनले वि.सं. २०६८ सालमा प्रथम श्रेणीमा प्लस टु उत्तीर्ण गरिन् । प्लस टु पढ्दाखेरि नै डाक्टर बन्ने उनको सपना थियो । त्यही सपनालाई पछ्याउँदैं उनले काठमाडौं युनिभर्सिटीमा एमबीबीएका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्स पास भएपछि वि.सं. २०७० सालबाट उनी नेपालगंज मेडिकल कलेज एमबीबीएस अध्ययन गर्न थालिन् । करिब ५ वर्षमा एमबीबीएसको पढाइ सकियो ।

एमबीबीएस सकेपछि ४ महिना उनले मेडिकल कलेजमै काम गरिन् । त्यही काम गर्दैगर्दा उनले प्रादेशिक अस्पताल गरेको विज्ञापनमा मेडिकल अफिसर पदका लागि परीक्षा दिइन् । परीक्षामा पास भएपछि वि.सं. २०७६ फागुन १८ गते नियुक्ति लिएर सेवा सुरु गरिन् । कोरोना महामारी सुरु भइसकेपछि बैशाख २९ मा उनलाई प्रदेश सरकारले सुर्खेतको चिङगाड गाउँपालिकास्थित अबलचिङ स्वास्थ्य केन्द्रमा खटायो । सुरुमा यस्तो संकटका बेला जिम्मेवारी कसरी बहन गर्ने चिन्ताले डा. अस्मितालाई सताएको थियो । तर, विस्तारै काम गर्दै जाँदा सबै कुरा सामान्य हुन थाल्यो । ‘संकटले थप जिम्मेवार गर्न र काम गर्न सिकाउँदो रहेछ,’ उनले सुनाइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ