२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालद्वारा स्टाफहरुका लागि दुई वटा बस सञ्चालन

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा स्टाफहरुका लागि दुई वटा बस सञ्चालन


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतका अस्पतालका स्टाफहरुका लागि आफ्नै बस सञ्चालनमा ल्याएको छ । प्रदेश ५ कै पूरानो र ठूलो अस्पतालले लकडाउनमा स्टाफहरुलाई अस्पतालसम्म पुग्न समस्या भएपछि २ वटा बस खरिद गरेर सञ्चालनमा ल्याएको हो ।

‘हामीले कोभिड—१९ को महामारीबाट पाठ सिकेर दीर्घकालीन समाधानका लागि गाडी खरिद गरी संचालनमा ल्याएका छौं,’ अस्पताल विकास समिति अध्यक्ष सूर्यबहादुर भट्टराईले भने, ‘बस संचालनलाई थप व्यवस्थित बनाउँदै लैजाने हो ।’

आफ्नै सवारी साधन संचालनमा आएसँगै स्टाफहरुलाई सवारी साधनका कारण हुने ढिला सुस्ती कम हुने र सेवा प्रवाह अझ बढी प्रभावकारी हुने अस्पताल प्रशासनको विश्वास गरेको छ ।

‘हाम्रा स्टाफहरुलाई नियमित रुपमा अस्पताल आउन जान समस्या भएको हामी महसुस गरेरै बस संचालनमा ल्याएका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल भन्छन्, ‘यसले आन्तरिक व्यवस्थापनमा थप बल पुग्नेछ । जनताको सेवामा दिनरात खटिने स्वास्थ्यकर्मीलाई सहज हुनेछ ।’

अस्पताल प्रशासनले ६२ लाखको लागतमा हाल दुई वटा बस संचालनमा ल्याएको छ । ती बसहरु अस्पतालबाट पूर्वमा सुनवल, दक्षिणमा भैरहवा र पश्चिममा सालझण्डीसम्म संचालन हुनेछन् । अब अस्पतालबाट स्टाफहरुलाई लैजाने र ल्याउने काम यी बसले नै गर्नेछन् । सार्वजनिक बसमा लाग्ने समयको बचत हुने र सुविधाजनक तरिकाले अस्पतालका स्टाफहरु गन्तव्यमा पुग्ने गरी बसको व्यस्थापन गरिएको डा. खनाल बताउँछन् ।

लुम्बिनी प्रदेशिक अस्पतालमा हाल झन्डै ६ सय कर्मचारी कार्यरत छन् । तीमध्ये अधिकांश सार्वजनिक सवारी साधन प्रयोगकर्ता छन् । अस्पतालले नै बस संचालनमा ल्याएपछि निजी सवारी साधन नहुने कर्मचारी र सार्वजनिक सवारी साधन चढ्नेहरु थप लाभान्वित हुने भएका छन् । यति ठूलो संख्यामा स्वास्थयकर्मी र कर्मचारी रहेको यो अस्पतालमा यसअघि आफ्नै सवारी साधन थिएन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ