२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै

प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै


बुटवल—कोभिड १९ को प्रत्यक्ष प्रभावमा परेका प्रदेश ५ का अस्पतालहरु पूरानै लयमा फर्कन थालेका छन् । कोभिड—१९ का कारण लगभग बन्दको अवस्थामा रहेका अस्पतालहरु विस्तारै सेवामा फर्कन थालेका हुन् ।

कोरोना संक्रमणका कारण देश लकडाउनको अवस्थामा रहँदा आपतकालीन सेवामात्रै संचालन गरेका अस्पतालहरु लकडाउन खुलेसँगै ओपिडीसहितका अन्य सेवा सुचारु गर्न थालेका छन् । अस्पतालहरुले अन्तरंग सेवा, प्रसुती सेवा, सामान्य चिकित्सा, मातृ शिशु, थाइराइड परीक्षणसहितको प्रयोगशाला, खोप, पोषण, परिवार नियोजन, एक्सरे, इसीजी, युएसजीलगाएतका सेवाहरु सुचारु गरेका छन् । स्वास्थ्य संस्थाहरुमा परिवार नियोजन, खोपा जस्ता कार्यक्रमहरु पनि संचालन हुन थालेका छन् ।

कोभिड—१९ को उपचारमा विशेष रुपमा केन्द्रित रहेको प्रदेश ५ कै पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा अन्य सेवाहरु संचालन भैरहेका छन् । अस्पतालमा बिरामीको चाप दिनानुदिन बढ्दै गएको छ । भौतिक स्तरोन्नतीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लकडाउनको समयावधिमा समेत अन्तरिक सेवाहरुको स्तरवृद्धि भएको छ । बिरामीहरुको फ्लो बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । यस अस्पतालमा प्रदेशका अधिकांश जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु आउने गर्दछन् ।

उता भेरी प्रादेशिक अस्पताल बाँकेले पनि आफ्ना नियमित सेवाहरु सुचारु गरिसकेको छ । कोरोनासँग सम्बन्धित पिसिआरलगायतका सेवाहरु संचालन गरेको अस्पतालले अन्य सेवाहरु सुरक्षित हिसावले संचालन गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले बताए । यद्यपि, यहाँ भने पहिलेको तुलनामा कम बिरामी आउने गरेका छन् ।

रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताल कोरोना अस्पतालका रुपमा संचालनमा थियो । यो अस्पतालमा हाल कोरोना संक्रमितको दर शुन्य रहेकाले अन्य नियमित सेवाहरु सुचारु गर्न सुरु गरिसकिएको छ । ‘प्रदेश ५ मा कोभिड–१९ का बिरामी घटिरहेका छन् । हाम्रो अस्पतालमा कोभिडका बिरामी शुन्य भएकाले अन्य स्वास्थ्य सेवा सुचारु गरिएका छौं,’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले भने, ‘कोभिडका बिरामी आएमा त्यसको छुट्टै व्यवस्थापन गर्ने गरेर अन्य सेवा सुचारु गरिएको छ ।’

प्रदेशमा कोरोना अस्पतालका रुपमा संचालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, दाङको बेलझुण्डी कोरोना अस्पतालमा भने अझै अति आवश्यकीय सेवाबाहेक अन्य सेवाहरु सुचारु भएका छैनन् ।

प्रदेश अन्तर्गतका अस्पतालहरुले सेवा सुचारु गरे पनि बिरामीको चाप भने तुलनात्मक रुपमा कम नै देखिन्छन् । अस्पतालमा उपचारका लागि आउनेको संख्या अझै पनि पुरानो संख्याको तुलनामा कम छ ।

अझै आम रुपमा अस्पतालमा जाँदा संक्रमणको जोखिम उच्च हुने मनोविज्ञानले काम गरेका कारण सामान्य बिरामीहरु घरमै घरेलु उपचारमा रहेको हुन सक्ने विज्ञहरु बताउँछन् । ‘अझै पनि समान्य रुघाखाकी, ज्वरो, छालाका रोगसँग सम्बन्धित बिरामीहरु घरेलु उपचारमा संलग्न रहेका हुन सक्छन् । जसका कारण पनि बिरामीको संख्या कम भएको हुन सक्छ,’ डा. सन्तोष पोखरेलले भने ।

अस्पतालहरुले पछिल्लो समयमा आउने बिरामीहरुको उपचारका लागि विशेष तयारी समेत गरेको पाइन्छ । अस्पतालहरुमा कोरोना संक्रमणलाई ध्यानमा राखेर सेवाहरु सुचारु गरिएका छन् । यद्यपि भौतिक पूर्वाधार जनशक्ति आदिका कारण प्रभावकारी भने हुन सकेको छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ