२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसीमामा निर्वाध आवागमन, कोभिड—१९ संक्रमण समुदायमा फैलिने चिन्ता

सीमामा निर्वाध आवागमन, कोभिड—१९ संक्रमण समुदायमा फैलिने चिन्ता


बुटवल—भारतीय सीमा नाका बेलहियाबाट ठूलो संख्यामा मानिसहरु नेपाल प्रवेश गर्ने गरेका छन् । बिना कुनै चेकजाँच नेपाल प्रवेश गर्नेहरुले कोरोना संक्रमणको जोखिम उच्च बनाएका छन् ।

भारतमा संक्रमण तीव्र रुपमा फैलिरहेका बेला बिना सावधानी भित्रिने नेपालीका कारण कोरोना संक्रमिण समुदायमा फैलन सक्नेतर्फ चिन्ता बढेको छ ।

प्रदेश ५ सरकारले प्रदेशमा समुदायमा कोरोना संक्रमणको अवस्था जाँच गर्न ¥यान्डम चेकजाँच गरिहेका बेला भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या ठूलै देखिएको छ । यसले थप चुनौती थपेको स्थानीय अगुवा रमाकान्त नेपाल बताउँछन् । ‘कुनै सावधानी छैन । मानिसहरु ओहोर—दोहोर गरे कै छन् । राम भरोसा चलेको छ । यसमा सरकारले सावधानी अपनाउनु पर्ने हो,’ उनले भने ।

नेपालमा लकडाउन अन्त्य भएपनि जोखिम कायमै रहेको भन्दै सरकारले सचेतता अपनाउन भनिरहेको छ । यद्यपि, सीमा नाकामा देखिएको लापरवाहीले कोरोना संक्रमणको समुदायमा फैलिने खतरा बढेको विज्ञहरुको बुझाइ छ । कोभिड—१९ को पहिलो चरणमा खासै असर नदेखिएरै साम्य भएजस्तो भएपछि मानिसहरुले गरेको चहल—पहलका कारण दोस्रो चरणमा संक्रमण थप कडा रुपमा देखिने अवस्था आउन सक्ने चिन्ता उनीहरुले गरेका छन् ।

भारतमा एकै दिन ५० हजार जनामा कोरोना भाइरस संक्रमण भैरहेका बेला संक्रमणग्रस्त क्षेत्रबाट नेपालीहरू दिनहुँ सयौको संख्यामा नेपाल भित्रिने क्रम जारी रहेकोले नेपाल जोखिम चुलिएको विश्लेषण गर्ने गरिएको छ ।

रूपन्देहीको सुनौलीस्थित नेपाल—भारत सीमा नाका हुँदै शुक्रबार मात्रै १ सय २६ जना नेपाली नेपाल भित्रिए । उनीहरुलाई कुनै चेक जाँच त गरिएन नै, होम क्वारेन्टाइनमा बस्ने बताइएपनि नियमअनुसार बसेको वा नबसेको भन्ने अनुगमन गर्ने प्रभावकारी संयन्त्र छैन ।

नेपालमा भारतबाट आएका अधिकांश नेपालीहरूमा नै कोरोना भाइरस संक्रमण देखिएको छ । यसरी कुनै चेक जाँच बिना जोखिमयुक्त स्थानबाट नेपाल आउने क्रम जारी रहँदा नेपालमा कोरोना भाइरस संक्रमणको जोखिमको चिन्ता हुन थालेको छ ।

‘लकडाउन समाजिक दूरी कायम गर्नका लागि उपयुक्त साधन थियो । अब त्यो अवस्था रहेन । त्यसले पनि व्यक्ति आफै सचेत हुनुपर्ने अवस्था छ,’ डा. सन्तोष भुषाल भन्छन्, ‘होम क्वारेन्टाइनको नियम पूर्णरुपमा पालना गरेमा समस्या हुँदैन् । तर, सावधानी पूर्णरुपमा अपनाएको हुनुपर्छ ।’

केही दिन अगाडि मात्रै सुनौली नाका हुँदै बुटवल आएर होटलमा बसेका ३ जना भारतीय मजदुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुटवलवासीमा त्रास फैलिएको थियो ।

प्रदेश ५ का तराईको जिल्ला कपिलवस्तु र नेपालगन्जमा ट्राभल हिष्ट्री नभएका नेपालीहरूमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसले समुदायमा कोरोना संक्रमण फैलिएको आशंका बढेपछि प्रदेश सरकारले ¥यान्डम टेष्ट अघि बढाएको छ ।

विदेशबाट आएका नेपालीहरू सामुदायिक क्वारेन्टाइनमा नबसी आफ्नैै घरमा क्वारेन्टाइन बस्न पाउने गरी मापदण्ड खुकुलो बनाउनु र संक्रमणग्रस्त मुलुकबाट दिनहुँ नेपाल भित्रिनुले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिने चिन्ता बढाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ