२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा कहाँ कति आइसियु र भेन्टिलेटर ? कस्तो छ अवस्था ?

प्रदेश ५ मा कहाँ कति आइसियु र भेन्टिलेटर ? कस्तो छ अवस्था ?


बुटवल – प्रदेश ५ मा कोभिड-१९ को ‘एक्टिभ केस’ देखिए आइसियु तथा भेन्टिलेरको समस्या हुने देखिएको छ ।  संक्रमण दर बढी भएको प्रदेशका रुपमा रहेको यस प्रदेशमा लक्षण सहितका विरामी आएमा उपचारका लागि प्राप्त साधन अभाव हुने देखिएको हो ।

हाल प्रदेशमा देखिएका संक्रमितहरु मध्ये झन्डै ९१ प्रतिशतमा कोभिडको लक्षण देखिएका छैन् । तर लक्षण सहितका विरामी आएमा प्रदेशमा रहेका आइसियु तथा भेन्टिलेटरले धान्ने अवस्था नहुने चिकित्सकहरुको भनाइ छ । ‘एक्टिभ केस’हरु धेरै आएमा यही अवस्थाले धान्ने त कुरै भएन । तर वैकल्पिक व्यवस्था हुन्छ । उपकरणहरु थप गर्ने प्रकृया अघि बढ्छ ।’ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने–‘त्यस्तो नहोला तर पनि तयारी अवस्थामा रहनुपर्छ ।’

प्रदेश सरकारले सम्पूर्ण शक्ति कोभिड नियन्त्रण तथा केस समाधानमा लगाएको बताउँदै आएको छ । तुलनात्मक रुपमा विगत भन्दा केही उपकरणहरु    थपिएका पनि छन् । तर प्रदेशको ठूलो जनघनत्व र संक्रमणको जोखिमका आधारमा त्यसको प्राप्त तयारी भने भएको छैन् ।  प्रदेश सरकार अन्तर्गत ५ वटा कोरोना विशेष आइसोलेसन अस्पतालहरु संचालनमा छन् । जसमध्ये ४ वटा अस्पतालहरुमा आइसियु, मोनिटर र भेन्टिलेटरसम्मको सुविधा छ ।

कोरोना संक्रमणका कारण कोभिड-१९ देखा परेमा व्यक्तिअनुरुप फरक-फरक लक्षणहरु देखा पर्ने गरे पनि सबैभन्दा घातक फोक्सोको इन्फेक्सन हुने चिकित्सकहरु बताउँछन् । जब फोक्सोको इन्फेक्सन हुन्छ तब श्वासप्रश्वास गर्दा गाह्रो हुने हुँदा विरामीलाई भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ जसले कृतिम श्वास समेत सघाउ पुर्याउँछ । विरामीलाई थाप इन्फिेक्सन नहोस् भन्नका लाग आइसियुको अवश्यकता पर्ने गर्दछ । प्रदेशमा यी दुईवटा सेवामा केही थप गरिए पनि प्रभावकारी रुपमा सेवा दिन सकिने गरी थप हुन सकेका छैनन् ।

कोरोना आइसोलेसन लेभल २ का लागि तयार गरिएका बेडको संख्या भने घट्दै गएको छ । सुरुको अवस्थामा २ सय ३० वटा बेड रहेकोमा हाल त्यो संख्या घटाएर १ सय ९१ मा झारिएको छ । अस्पतालमा संक्रमितको संख्या घट्दै गए पछि बेडको संख्या पनि घटाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थय निर्देशक डा. विनोद कुमार गिरी बताउँछन् । ‘अवस्था हेरी वेडहरु थप गर्न सकिन्छ । संक्रमितहरुको अवस्था र उनीहरुमा देखा पर्ने लक्षणका आधारमा बेडहरु थप गर्ने गरी काम भैरहेको छ ।’,उनले भने ।

आइसियू सहितको सेवा

प्रदेश सरकारले विरामीहरुको अवस्था हेरी आइसीयू सहितको सेवा थप गर्दै लैजाने योजना बनाएको छ । यद्यपी अहिलेको अवस्थामा आइसीयू सहितको सेवा भने निकै कम रहेको छ । प्रदेशभारमा २९ वटा मात्रै आइसीयू सहितको सेवा छ । यस अघि २० वटा आइसीयु थिए । हालसालै ९ वटा थप गरिएको र आवश्यकता अनुसार थप हुँदै जाने स्वास्थय महाशाखा प्रमुख उमाशंकर प्रसाद चौधरी बताए ।

प्रदेशका विभिन्न स्थानहरुमा तयार भएका ४ वटा कारोना आइसोलेशन अस्पतालहरुमा हाल २९ वटा आइसीयु छन् । जसमा २४ वटा मनिटर जाडन छन् । लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना, बेलझुन्डी कोरोना विशेष अस्पताल र खजुरा क्यान्सर अस्पताल बाँकेमा ८-८ वटा आइसीयु मेसिन छन् । लुम्बिनी र बेलझुन्डीमा ८-८ वटा नै मनिटर जडान भएका छन् भने खजुरा क्यान्सर अस्पतालमा ३ वटा मनिटर जडान भएका छन् । सुरुको योजनामा यी तीन वटै अस्पतालहरुमा ५-५ वटा थिए ।

त्यस्तै, भिम अस्पताल भैरहवामा ५ वटा आइसीयू छन् । यहाँ आइसीयुको संख्या थप गरिएको छैन् । गहन चिकित्सा इकाईका रुपमा उपचार हुने आईसीयू सेवामा विरामीहरुलाई गहन उपचार सहित औषधि प्रदान गर्ने महत्वपूर्ण विभागका रुपमा आइसीयूलाई लिने गरिन्छ । गंभिर र संक्रमणको उच्च जोखिम युक्त विरामीहरुका लागि आइसीयू अनिवार्य हुने चिकित्कहरु बताउँछन् ।

भेन्टिलेटरको अवस्था

प्रदेशमा भेन्टिलेटरहरुको संख्या पनि कम छ । पछिल्लो समय कोरोना विशेष अस्पतालहरुमा भेन्टिलेटर जडान भएका छन् । सुरुमा आइसीयु जडान भएका अस्पतालहरुमा संक्रमणका कारण गंभिर अवस्थामा आउने विरामीका लागि भन्दै भेन्टिलेटर जडान भएका छन् । प्रदेशमा १३ वटा भेन्टिलेटर जडान भएका डा. चौधरीले बताए । ‘संक्रमणका कारण महत्वपूर्ण अंगले काम गर्न छाड्यो भने भेन्टिलेटर आवश्यक हुन्छ । जसको सपोर्टका आधारमा विरामीलाई उपचार गरिन्छ । अवश्यकता बमोजिम थप गर्ने योजना छ ।’,उनले भने ।

बेलझुन्डी कोरोना विशेष अस्पताल बेलझुन्डीमा ५ वटा भेन्टिलेटर रहेका छन् । ७५ बेड सहितको अस्पतालमा ५ वटा मात्र भेन्टिलेटर हुनु निकै कम भएको स्वास्थ्य विज्ञहरुको बुझाइछ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा ४, खजुरा क्यान्सर अस्पताल बाँकेमा ३ र भिम अस्पताल भैरहवामा १ वटा भेन्टिलेर राखिएको छ । एक्टीभ केश आएमा यो संख्या कम हुने प्रदेशसकारले आकलन गरिसकेको र थप योजना बनाइरहेको डा. चौधरीले बताए ।

संक्रमित  धान्न सक्ने अवस्था छ ?

संक्रमण दर उच्च रहेको प्रदेशमा एक्टिभ केश आएमा हाल उपलव्ध साधन स्रोतले धान्न सक्ने अवस्था भने देखिदैन । प्रदेश भरमा रहेका १३ वटा भन्टिलेटरले केस थप भएमा धान्ने अवस्था नहुने डा. सन्तोष पोखरेल बताउँछन् । ‘अन्य रोगहरुको तुलनामा कोभिडको मृत्यु दर निकै कम छ । यसको अर्थ यो रोग नै होइन भन्ने होइन तर भयभित हुने अवस्था छैन् । सचेत हुनुपर्छ ।’,उनले भने । बालरोग विशेषज्ञ डा. पोखरेलले संक्रमित बालवालिकाहरुका लागि पनि भेन्टिलेर छुट्टाउन आवश्यक रहेको बताए ।

सीमानाकाबाट निर्वाद रुपमा नेपाल आउनेहरुका कारण उच्च जोखिममा रहेको प्रदेशमा ‘एक्टिभ केस’को समस्या समाधानका लागि भौतिक, औजारजन्य तथा नीतिगत सुधार आवश्यक देखिन्छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ