२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्ज मेडिकल कलेजः सरकारबाट जोखिम भत्ता लिने तर स्वास्थ्यकर्मीलाई नदिने

नेपालगन्ज मेडिकल कलेजः सरकारबाट जोखिम भत्ता लिने तर स्वास्थ्यकर्मीलाई नदिने


काठमाडौं—कोभिड–१९ महामारीमा फ्रन्टलाइनमा रहेर उपचार संलग्न भएका नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीले तबल तथा जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । बाँकेको कोहलपुरस्थित उक्त मेडिकल कलेजमा कार्यरत केही स्वास्थ्यकर्मीले त आफूहरुले जोखिम भत्ता त परै जाओस फागुनदेखिको पूरै तलब समेत नपाएको गुनासो पोखेका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोभिड—१९ उपचारका लागि सरकारले तोकेको तेस्रो तहको अस्पताल हो । यो मेडिकल कलेज अस्पतालमा महामारीका बीचमा दुई जना कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया भएको थियो । जसले चौतर्फी प्रशंशा समेत बटुलेको थियो । तर, कोरोना जोखिमका बीच अग्रपंक्तिमा रहेर बिरामीको सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले नै तलब र जोखिम भत्ता नपाएका हुन् ।

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत एक जना स्टाफ नर्सले आफूले फागुन महिनादेखि पूरै तलब नपाएको गुनासो गरिन । ‘महामारीको सबैभन्दा अग्रपंक्तिमा रहेर काम गरेका छौं । तर, फागुनदेखिको पूरै तलब पाएको छैनौं,’ हेल्थ आवाजसँगको कुराकानीमा उनले भनिन्, ‘हामीले पाउँदै आएको जोखिम भत्ता पनि यस्तो महामारीमा पाएका छैनौं । दुःख लाग्छ ।’

उनको जस्तै समस्या नेपालगञ्ज मेडिकल कलेजमै अध्ययनरत अर्का एक स्त्री रोग विशेषज्ञको पनि छ । उनी लकडाउनकै बीचमा कोरोना संक्रमित महिलाको शल्यक्रियामा समेत सहभागी भएका थिए । आफूले पाउँदै आएको तीन महिनादेखिको तलब नपाएको गुनासो गर्दै उनी भन्छन्, ‘महामारीकै बीचमा पनि जस्तोसुकै काम गर्नका लागि हामी हाम्रो कर्तव्य ठानेर लागेका छौं । तर, पाउँदै आएको सेवा सुविधा नपाउँदा निकै दुःख लाग्छ ।’

नेपालगञ्ज मेडिकल कलेजमै कार्यरत अर्का एक नर्सिङ अधिकृतको पीडा पनि उस्तै छ । आफ्नो नाम नबताउने शर्तमा उनले भनिन्, ‘महामारीको बेलामा जोखिम मोलेर काम गर्दा पनि तलब तथा जोखिम भत्ता पाइएको छैन् ।’

त्यस्तै, अस्पतालकी एक वरिष्ठ महिला चिकित्सकले पनि आफूहरुले तलब तथा जोखिम भत्ता नपाएको गुनासो हेल्थ आवाजसँग गरिन् । उनले आफूले २ महिनादेखि तलब तथा जोखिम भत्ता नपाएको बताइन् । ‘निजी अस्पताल जोखिम भत्ता नपाउने भन्दै रोकेको जानकारी अस्पताल प्रशासनबाट आएको छ,’ उनले भनिन्, ‘तर, सरकारबाट अस्पतालले जोखिम भत्ताका नाममा पैसा लिएको भन्ने सुनेका छौं ।’

नेपालगन्ज मेडिकल कलेजले कोभिड—१९ का बिरामीको उपचार बापत जोखिम भत्ताका नाममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार मसान्तसम्मको १६ लाख ६२ हजार ५ सय रुपैयाँ निकासा लिइसकेको छ । ९५ जना कोभिड—१९ संक्रमितको दैनिक ३५ सयका दरले औसतमा ५ दिनको उक्त रकम निकासा गरिएको मन्त्रालयका योजना तथा अनुगमन शाखाका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ