२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुबाको जीवन जोगाउन आफ्नो कलेजो दिएको त्यो क्षण …

बुबाको जीवन जोगाउन आफ्नो कलेजो दिएको त्यो क्षण …


२०७१ साल । असोजतिरको कुरा हुनुपर्छ । बुबा (हिराकाजी महर्जन)लाई पेट दुख्ने, पेट फुल्ने, खुट्टा सुन्निनेजस्ता समस्या देखिन थाल्यो । त्यसपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लिएर गयौं । त्यहाँका चिकित्सकले बुवाको कलेजो खराब हुँदै गएको छ भनेर औषधि दिनुभयो । औषधि खान थालेपछि दुई तीन महिना ठीक भएजस्तो भयो । तर, फेरि उहाँको नाक र मुखबाट रगत आउने, खुट्टाहरु सुनिनेजस्ता समस्या देखिन थाल्यो । त्यसपछि फेरि हामीले टिचिङ अस्पताल लिएर गयौं र भर्ना ग¥यौ ।

त्यो बेलामा डाक्टरहरुले कलेजो निकै खराब भैसकेको छ । ट्रान्सप्लान्ट नै गर्नुपर्छ भन्नुभयो । जसका लागि नेपालमा सम्भावना थिएन, भारत जानुपथ्र्यो । त्यसका लागि १ करोड ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताउनुभयो । हामीसँग त्यत्रो खर्च गर्ने हैसियत थिएन । ट्रान्सप्लान्ट नगर्ने मनस्थिती बनाएर घर फर्कियौं ।

एकदिन बुबा एक्कासी बेहोस हुनुभयो । फेरि उही टिचिङ अस्पताल नै लगियो । त्यतिबेला बुबा एकदमै सिरियस अवस्थामा हुनुुहुन्थ्यो । डाक्टरहरुले बिरामीको अवस्था एकदमै गम्भीर छ, यहाँ उपचार हुन सक्दैन् । अरु नै अस्पताल लैजानु भन्नुभयो । त्यहाँबाट बुबालाई निदान अस्पतालमा लगियो । त्यहाँ डा. दिपेश गुरुवाचार्यको टिमले चेकजाँच गर्नुभयो । भेन्टिलेटरमा राखेर औषधि दिन सुरु गरियो ।

बुबाको ९५ प्रतिशत कलेजो ड्यामेज भैसकेको रहेछ, उहाँहरुले त्यही भन्नुभयो । केही दिन अस्पताल बसेपछि उहाँलाई डिस्चार्ज गरियो । डा. दिपेशले थप औषधि दिनुभयो । त्यसको केही समयपछि बुबा फेरि बेहोस हुनुभयो । हामीले निदान अस्पतालमै लग्यौं । त्यति नै बेला भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण भएको रहेछ । बेहोस अवस्थामा पुनः अस्पताल ल्याएको देखेपछि डा. दिपेशले नेपालमै कलेजो ट्रान्सप्लान्ट गराउनुहुन्छ भनेर सोध्नुभयो । त्यतिबेला खर्च कति लाग्ने हो भनेर मैले कुनै जवाफ फर्काइन । लगत्तै मैले डा. पुकारचन्द्र श्रेष्ठसँग कुराकानी गरे ।

जुनबेला उहाँ मानव अंग प्रत्यारोपण केन्द्रमा हुनुहुन्थ्यो । उहाँले मेरो बुबाको कलेजो ट्रान्सप्लान्ट गरेको २० लाख रुपैयाँ खर्च लाग्छ भनेपछि ट्रान्सप्लान्ट गर्ने मनस्थितीमा पुग्यौं । डा. पुकार र डा. दिपेश दुवैजनाले मेरो ब्लड ग्रुप के हो भनेर सोध्नुभयो । मैले मेरो र बुबाको रगतको समूह एउटै हो भनें । उसो भए तपाईंले बुवालाई कलेजो दिन सक्नुहुन्छ ? भनेर सोध्नुभयो । बुबाको त्यतिबेलाको अवस्था एउटा छोरीका लागि निकै गाह्रो थियो । केही नसोची भने, ‘म कलेजो दिन्छु ।’
मैले कलेजो दिने भन्ने थाहा पाएपछि मेरा परिवार आफन्तहरुले छोरी मान्छे अरुको घरमा विहे गरेर जानुपर्छ पछि समस्या हुन्छ भनेर अनेकथरी कुरा गर्न थाले । तर, मैले कसैको कुरा सुनिनँ । मलाई जसरी पनि बुवालाई बचाउनु थियो । त्यतिबेला मलाई मेरो प्रेमी, दिदीबहिनी र मैले भाइटिका लगाउने दाइहरु र मेरा साथीहरुले भने निकै सहयोग गरेका थिए ।

मैले बुबालाई कलेजो दिने भएपछि भारतबाट १५ जना चिकित्सकको टोली नेपाल आयो । साथै नेपालका पनि ३० जनाको टोली थियो । मेरो कलेजो झिक्नका लागि मलाई अप्रेशन थिएटरभित्र लगियो । त्यहाँ ठूलो संख्या चिकित्सकहरुको टोली देख्ने बित्तिकै मनमा डर लाग्यो । मेरो जिउ कामिरहेको थियो । त्यतिबेला मलाई एनेस्थेसियाको डा. आरती र सर्जन डा. छितेनले तिमीलाई केही हुँदैन नडराउ भन्नुभयो । मलाई बेहोस पारियो ।

८ घन्टापछि होस खुल्यो । म होसमा आउने बित्तिकै मेरो मुखबाट बुवा शब्द निस्कियो । त्यतिबेलासम्म बुबाको पनि कलेजो ट्रान्सप्लान्ट भैसकेको थियो । म बुवाको मुख हेर्न आतुर थिएँ । मलाई ह्विलचियरमा राखेर नर्सहरुले बुबा राखिएको ठाउँमा पु¥याए । बुबालाई देखें । बुबाको मुख, नाक, घाँटी, हातमा पाइप र तार लगाइएको थियो । भेन्टिलेटरमा बुबाको अवस्थामा देख्दा सुरुमा त झसंग भएँ । चिकित्सकहरुले बुबाको कलेजो ट्रान्सप्लान्ट सफल भएको जानकारी गराएपछि मेरो खुशीको सीमा रहेन । त्यो १८ साउन २०७५ को दिन थियो ।

४ दिन आईसीयुमा राखेपछि मलाई क्याबिनमा सारियो । क्याबिनमा सरेपछि एकदमै घाउ दुख्यो । घाउको दुखाइको पीडाभन्दा बुबालाई बचाउन सफल भएँ भन्नेमा बढी खुशी हुन्थे । मनोबल उच्च बन्थ्यो । तैपनि म हिड्न सक्ने अवस्थामा थिइनँ ।

६ दिनको दिन मेरो बुबासँग भेट भयो । बुबा मभन्दा तगडा भैसक्नुभएको रहेछ । मलाई देख्ने बित्तिक्कै हाँस्दै भन्नुभयो, ‘हेर छोरी म त तगडा भैसके नि ।’ उहाँले मेरै अघि हिडेर देखाउनुभयो । मृत्युको मुखमा पुगेको बुबाले तगडा भएँ भनेर ठमठम हिँडेको देखेपछि मेरा आँशु थामिएनन् । तर, धेरैपछिको खुशीको आँशु थियो त्यो ।
उपचार पश्चात म १२ दिनको दिन अस्पतालबाट डिस्चार्ज भएँ । बुबा १ महिनामा डिस्चार्ज हुनुभयो । अहिले बुबा पहिलाकै जस्तो तगडा हुनुहुन्छ । अहिले उहाँले आफ्नै नेवारी खाजा घर चलाइरहनुभएको छ । त्यसैले ५ वर्षयता हाम्रो घरमा खुशी छाएको छ । पाँच वर्ष पहिलाको बावुको मुख हेर्ने दिन अस्पतालमा बित्थ्यो । तर, अहिले सबै दिदीबहिनी जम्मा भएर यो दिनलाई रमाइलो गरेर मनाउँछौं ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ