काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षाको मुलमन्त्रलाई ध्यानमा राखेर निःशुल्क उपचारमा सरकारले ध्यान दिएको बताए । शुक्रबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भविष्यका लागि सरकारले ३०९ वटा अस्पतालको एकैदिन शिलान्यास गरेको बताए ।
एकैदिन ३९६ अस्पतालको शिल्यान्यास गर्ने कार्यक्रम राखेको भएपनि विभिन्न कारणले ३०९ ठाउँमा अस्पतालको शिल्यान्यास गरेको उनको भनाइ थियो । ‘एकै दिन ३०९ स्थानमा हामीले अस्पतालहरुको शिलान्यास ग¥यौं,’ ओलीले भने, ‘नेपालको इतिहासमा यस्तो रेकर्ड खोज्नुहुन्छ ? एक दिनमा होइन वर्षदिनमा ३०९ अस्पताल शिलान्यास भएको कुनै वर्ष देखाउनुहुन्छ ? तर, अहिलेको सरकार एकै दिन ३०९ अस्पताल शिलान्यास गर्छ ।’
प्रधानमन्त्रीले सरकार कोभिड—१९ विरुद्धको भ्याक्सिन ल्याउने तयारीमा रहेको र छिट्टै भ्याक्सिन ल्याउने दावी गरे । ‘हामी भ्याक्सिन ल्याउने तयारीमा छौं, छिट्टै भ्याक्सिन ल्याउँछौं,’ प्रधानमन्त्रीले भने, ‘भ्याक्सिन ल्याइसकेपछि कोभिडको ठूलो समस्या रहँदैन् ।’ उनले कोभिडको समस्या सरकारले समाधान गर्ने धारणा समेत व्यक्त गरे ।
कोभिड—१९ सुरु हुने बितिकै यो सरकारलाई सबैभन्दा महत्वपूर्ण जनताको ज्यान भएको बताएको उल्लेख गर्दै उनले नेपाली जनताको जीवन सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए । ‘जीवन सुरक्षा पहिलो कुरा हो,’ उनले भने, ‘पहिलो कर्तव्य हो सरकारको हामी त्यसैगरी काम गर्छौ ।’
अहिले पनि हामी सोसल डिस्ट्यान्स मेन्टेन गरेर बसिरहेका प्रधानमन्त्रीको भनाइ थियो । उनले जनतामा जागरण, चेतना फैलाएर, सामाजिक दूरी कायम गर्न आग्रह गरेर, अनिवार्य हात धुन आग्रह गरेर मास्क लगाउन आग्रह गरेर विभिन्न जडिबुटीजन्य कुराहरुको प्रयोग गर्न, तातोपानीले घाँटी, नाकमुख सफा गर्न सिकाएर कोभिडको सामना गरिरहेका उल्लेख गरे । ‘एकपटक कोभिड ह्वातै बढेको देखिएतापनि फेरि कम हुँदैं गएको छ,’ उनले भने ।