२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त

तलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त


काठमाडौं– बैशाखदेखि पुषसम्मको ७ महिनाको तलब भत्ता नदिएको भन्दै बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजका २४ जना चिकित्सक आन्दोलित भएका छन् । अस्पतालले नियमित तलब दिनुपर्ने, फ्याकल्टीको तलब समान हुनुपर्ने, २ वर्षभन्दा बढी काम गरेको फ्याकल्टीलाई प्रोत्साहन भत्ता दिनुपर्ने र कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सकलाई प्रोत्साहन भत्ता दिनुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । तर, अस्पताल प्रशासन भने तीन महिनाको मात्र तलब दिन बाँकी रहेको बताउँदै आएको छ ।

तीन हप्तादेखि आन्दोलनमा रहेका २४ जना चिकित्सकले अस्पतालको ओपीडीका बिरामी जाँच्न छोडेको आन्दोलनरत डा. प्रेनित पोखरेल बताउँछन् । ‘हामीले नियमित तलब दिन माग गर्दा अस्पताल प्रशासनले सुनुवाइ गरेन,’ उनले भने, ‘बैशाखबाट यता साउन र भदौबाहेक ७ महिनाको तलब भत्ता दिइएको छैन । त्यसैले हामीले ओपीडीका बिरामी नजाच्ने र पठनपाठन नगर्ने भन्दै आन्दोलित भएका हौं ।’

अस्पतालले नेपाल मेडिकल काउन्सिलबाट विद्यार्थीबाट कति पैसा असुल्ने र फ्याकल्टीलाई कति दिने भन्ने तोकेको छ । तर, यो अवस्थामा अस्पतालले चिकित्सक अर्थात फ्याकल्टीलाई नियमित तलब नदिएको र विद्यार्थीलाई पनि छुट नदिएको डा. पोखरेलले आरोप लगाए ।

कोरोना महामारीसँगै चिकित्सकलाई बेसिक तलब र ड्युटीको आधारमा पैसा दिने भन्दै अस्पताल प्रशासनले निर्णय गरेको थियो । तर, २ महिनाको तलब दिएको मध्ये पनि ड्युटी गरेको दिनको मात्र ज्यालादारीका हिसाबले पैसा दिएकाले चिकित्सकहरुको श्रमशोषण भएकाले आन्दोलित हुनुपरेको डा. पोखरेलले बताए ।

अस्पतालले भने तीन महिनाको तलब बाँकी रहेको र अरु महिनाको तलब दिइसकेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले चिकित्सकहरु आन्दोलित भएको आफूलाई थाहा नभएको बताए । ‘उहाँहरुले तलबको विषयलाई लिएर आन्दोलन गरिरहनुभएको छ भन्ने मलाई थाहा थिएन,’ उनले भने, ‘हामीले उहाँहरुको बैशाख, जेठ र असारको तलब दिन बाँकी छ, भदौ असोज, कात्तिकको तलब ३५ देखि ५५ प्रतिशतसम्म दिएका छौं ।’

दुई दर्जन चिकित्सक एकाएक अस्पताल नआएपछि अस्पतालले केही गुनासो भए राख्नका लागि भनेर २ पटक बैठक राख्दा समेत उपस्थित नभएपछि तीन दिनभित्र स्पष्टिकरण पेस गर्न सूचना निकालेको छ । यदि तीनदिन भित्र बिदा बस्नुको कारणसहित अस्पतालमा उपस्थित नभए उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रक्रिया सुरु गरिने डा. श्रेष्ठले बताए ।

‘हामीले उहाँहरुलाई चित्त नबुझेको कुरा राख्न आउनुस् भनेर २ पटक बैठक बोलायौं तर उहाँहरु बैठकमा उपस्थित हुनुभएन,’ उनले भने, ‘बिरामी र विद्यार्थीलाई अलपत्र पार्नुहुँदैन भनेर तीन दिनभित्र अस्पताल नआउनुको कारण सहित उपस्थित हुनु भनेर सूचना जारी गरेका छौं । तर तीन दिनभित्र पनि अस्पताल नआएमा उहाँहरु सबैलाई बर्खास्त गरेर नयाँ प्रक्रियामा जानेछौं ।’

अस्पतालले जारी गरेकाे सूचना

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ