२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक वर्षमा ३ अर्ब ४६ करोडभन्दा बढीका औषधिजन्य सामाग्री र उपकरण भन्सार छुटमा नेपाल भित्रिए

एक वर्षमा ३ अर्ब ४६ करोडभन्दा बढीका औषधिजन्य सामाग्री र उपकरण भन्सार छुटमा नेपाल भित्रिए


काठमाडौं– नेपालमा एक वर्षभित्र ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीका औषधिजन्य सामाग्री र स्वास्थ्य उपकरण भन्सार छुटमा भित्रिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई गरेको सिफारिसका आधारमा आर्थिक वर्ष ०७६ साउनदेखि ०७७ असार मसान्तसम्म ३ अर्ब ४६ करोड ३ लाख ८७ हजार २ सय ३२ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीमा भन्सार छुट भएको हो ।

१ सय ७६ वटा औषधिजन्य सामग्री तथा उपकरणका लागि पटक–पटक गरी भन्सार छुटको सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखाका उप–सचिव भवनाथ खतिवडाले जानकारी दिए । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार भन्सार छुट पाउनेमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था रहेको छ ।

उक्त संस्थाका लागि २०७६ मंसिर २० मा ३० लाख ७५ हजार अमेरिकी डलर बराबरको अस्पताल बेड खरिद गरिएको थियो । जसलाई २०७७ असार मसान्तको अमेरिकी डलरको बिनिमय दरले हिसाब गर्दा ३७ करोड १ लाख ३७ हजार ७ सय ५० नेपाली रुपैयाँ हुन आउँछ ।

यस्तै, पूर्वाञ्चल क्यान्सर अस्पतलाका लागि खरिद गरिएको क्याथल्याब मेसिनका लागि पनि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्सार छुटको सिफारिस गरेको थियो । उक्त मेसिन २७ करोड, १ लाख ७५ हजार ९ सय ४५ रुपैयाँमा खरिद गरिएको थियो ।

त्यसैगरी शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका लागि खरिद गरिएको इन्सपाएर सिक्स एफ स्टेरिल अर्थात अटोक्लेभमा पनि भन्सार छुट भएको छ । जसलाई २५ करोड ६४ लाख ३८ हजार ५३ रुपैयाँमा खरिद गरिएको थियो ।  यो सँगै थुप्रै उपकरण तथा औषधिजन्य सामग्री भन्सार छुटमा नेपाल भित्रिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ