२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारको बन्दैछ स्वास्थ्य सचिव ?

को बन्दैछ स्वास्थ्य सचिव ?


काठमाडौं—२७ पुसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा रिक्त प्राविधिक सचिव पद छिट्टै पूर्ति हुने बताए । मन्त्री नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा नै त्रिपाठीले रिक्त सचिव पदमा नियुक्त गर्न सरकार तत्पर रहेको बताएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभागीय मन्त्रीको यो धारणा त्यतिबेला आएको छ, जतिबेला प्राविधिक सचिव रिक्त भएकै एक वर्षभन्दा लामो समय भइसकेको छ । अहिले मन्त्रालयमा प्रशासनतर्फको सचिवमा लक्ष्मण अर्याल छन् । तर, प्राविधिकतर्फकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले गत वर्षको कात्तिकमा राजीनामा दिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर खान गएपछि उक्त पद रिक्त छ । मन्त्रालयमा प्रशासनतर्फ एक जना र प्राविधिकतर्फ एक जना सचिव रहन्छन् ।

मन्त्रालयमा तीन जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ र एक जना ११ औं तहका स्वास्थ्यतर्फका सह—सचिव डा. गुणराज लोहनीबीचको शक्ति संघर्षका कारण झण्डै डेढ वर्षदेखि स्वास्थ्य सचिवको पद रिक्त हुन पुगेको हो । तीन जना १२ औं तहका प्रमुख विशेषज्ञ सचिवका दाबेदार हुँदाहुँदैं निवर्तमान स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ११ औं तहका डा. लोहनीलाई सचिव बनाउने कसरत गरेपछि प्राविधिकतर्फको सचिव नियुक्तिमा ढिलाइ हुन पुगेको थियो ।

ढकालले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक मानिने डा. लोहनीलाई सचिव बनाएर दुवै अध्यक्षसँग सम्बन्ध बराबर बनाउन चाहेका थिए । त्यसका लागि उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रशासनिक तथा संगठनात्मक संरचना (ओएनएम) परिवर्तन गरी १२ औं तहको प्रमुख विशेषज्ञ रहने प्रक्रिया अगाडि बढाएका थिए ।

तर, त्यो प्रक्रियालाई वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सामान्य प्रशासनमन्त्री हुँदा प्रक्रिया नपु¥याएरै ओएनएमको सिफारिस भएको भन्दैं फिर्ता पठाइदिएका थिए । जसको खुलासा उनले स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन गरेका थिए । त्यो बेला उनले भनेका थिए, ‘न्याम्सबाट सिफारिस हुनुपर्ने नयाँ संगठनात्मक संरचना कसरी वीर अस्पतालबाट आयो ? कम्तिमा त्यति कानुनी कुरा त थाहा पाउनुप¥यो नि ।’

नेकपाभित्रको विवादका कारण अनौपचारिक रुपमा पार्टी विभाजनसँगै स्वास्थ्य मन्त्रीको फेरबदलले पुनः प्राविधिक स्वास्थ्य सचिव हुने बहस अगाडि बढेको हो । यसअघि प्राविधिक सचिवतर्फ चार जना प्रतिस्पर्धी देखिएकोमा अहिले डा. लोहनी करिब—करिब रिङ बाहिर छन् । अब स्वास्थ्य सचिवका लागि मुख्य प्रतिस्पर्धा डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठबीच हुने देखिन्छ ।

मन्त्रालय स्रोतकाअनुसार पछिल्लो समय डा. पोखरेलको सम्भावना बलियो बन्दैं गएको छ । प्रजातान्त्रिक धार निकट मानिने उनलाई यसअघिका मन्त्री ढकालले पनि स्वास्थ्य सचिव बनाउने प्रयास गरेका थिए । तर, उनको प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेपछि त्यो बेला उनी स्वास्थ्य सचिव हुन सकेका थिएनन् । तर, नेकपाको अनौपचारिक विभाजनसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएका प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक विचारधाराका डा. पोखरेललाई सचिव बनाएर सभापति शेरबहादुर देउवाको विश्वास आर्जित गर्न कोशिश गर्ने सम्भावना बढी रहेको मन्त्रालय निकट स्रोतको दावी छ । त्यसैको रिहर्सलका रुपमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल भारत रहँदामा उनलाई मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी दिइएको थियो ।

डा. पोखरेलको सम्भावना बढ्नुको अर्को कारण सचिवका प्रमुख दावेदार मानिएका महेन्द्रप्रसाद श्रेष्ठलाई ‘ओम्नी प्रकरण’मा संलग्नताको आरोप लाग्नु पनि हो ।

आगामी साउनसम्म कार्यकाल रहेका श्रेष्ठ पनि सचिवका लागि अहिले कसरत भने गरिरहेका छन् । सिएमएबाट जागिर सुरु गरेर मन्त्रालयको १२ औं तहसम्म पुगेका श्रेष्ठ स्वास्थ्य मन्त्रालयभित्र तल्लो तहदेखि माथिल्लो तहसम्म बुझेका उच्च अधिकारीका रुपमा चिनिन्छन् । तर, ‘ओम्नी’मा उनलाई लागेको आरोपका कारण उनलाई सचिव बनाउँदा सरकारको निर्णयप्रति प्रश्न उठ्ने र त्यसले चुनावकै डिलमा राम्रो सन्देश नजाने सम्भावनालाई पनि प्रधानमन्त्री ओलीले आँकलन गरेका छन् ।

अर्का प्रतिस्पर्धी डा. दीपेन्द्ररमण सिंह स्वास्थ्य सचिवको दौडमा त्यति देखिदैनन् । वौद्धिक छवि भएका डा. सिंह राजनीतिक दौडमा माहिर खेलाडी पनि मानिदैनन् । मेडिकल अधिकृतबाट ११ औं तहमा एकै पटक नाम निकालेका उनी अहिले स्वास्थ्य सेवा विभागका महानिर्देशक छन् । टेबल वर्कमा रमाउने उनलाई महानिर्देशक पनि जबरजस्त बनाएर पठाइएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ