२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालका अस्पतालमा काम गर्ने ३६ प्रतिशत नर्स कोरोना संक्रमित

नेपालका अस्पतालमा काम गर्ने ३६ प्रतिशत नर्स कोरोना संक्रमित


 काठमाडाैं – अस्पतालमा काम गर्ने कर्मचारी मध्य सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना संक्रमित भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ । काठमाडाैं उपत्यकामा कोभिड–१९ को सेरोइपिडिमियोलोजीको अध्ययनका अनुसार उपत्यकाका अस्पतालहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ को संक्रमणको अवस्था अध्ययनको लागि गरिएको सर्वेक्षणमा त्यस्तो नतिजा देखिएको परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए ।

उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सो अध्ययनले नर्स पछि प्रशासन तर्फका कर्मचारी (२२ प्रतिशत) बढी संक्रमित पाइएको थियो । त्यसैगरी १८ प्रतिशत चिकित्सक, ७ प्रतिशत ल्याव र औषधी पसलमा काम गर्ने र १७ प्रतिशत अन्य कर्मचारीमा कोभिड–१९ पुष्टि भएको थियो ।

सोही अनुसन्धानले काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोभिड–१९ को एन्टीबडी तयार भइसकेको समेत देखाएको छ । २० वटा अस्पतालमा ३२ प्रतिशत देखि ५६ प्रतिशतसम्ममा एन्टीबडीको संयोजित व्यापकता रहेको अनुसन्धानले देखाएको डा. ज्ञवालीले बताए ।

अनुसन्धानमा अन्नपुर्ण न्यूरो इन्स्टिच्युट, बीर अस्पताल, नेपाल आँखा अस्पताल, प्रसुती गृह, ह्यामस अस्पताल, निजामती कर्मचारी अस्पताल, भेनस अस्पताल, मेडिसिटी अस्पताल, अल्का अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, किस्ट अस्पताल, नेपाल क्यान्सर अस्पताल, स्टार अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, कान्ति वाल अस्पताल, नेपाल मेडिकल कलेज, ओम अस्पताल, नेपाल सशस्त्र प्रहरी बल र मोडेल अस्पताल किर्तीपुरमा काम गर्ने नर्स डाक्टर प्रशासन ल्याव लगायतका कर्मचारी सहभागी थिए ।

उनीहरुमा कोभिड–१९ भए नभएको हेर्न एन्टीबडी व्यापकता जाँच गरिएको थियो । त्यसको प्रमाणीकरणका लागि त्रिवि शिक्षण अस्पतालको वायोमेट्रिक विभागको ल्यावमा परीक्षण गरिएको थियो । अध्ययनमा डा. ज्ञवाली र कन्सल्टेन्ट फिजिसियन डा.किरण राज पाण्डे सहभागी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ