२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान एक महिना पर धकेलियो

हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान एक महिना पर धकेलियो


काठमाडौं—आगामी २९ फागुनमा सुरु हुने भनिएको हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान कोरोना खोपका कारण एक महिना पर सर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै २० चैतबाट फागुन मसान्तसम्म अभियान चलाउने निर्णय गरेको छ । दुई वर्ष उमेर समूह माथि १२ जिल्लाका ७० लाख नागरिकलाई औषधी खुवाउने अभियान प्रभावित भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘औषधी सेवनमा जुट्ने स्वास्थ्यकर्मी कोरोना खोप लगाउन जुट्नुपर्ने भएकाले हात्तीपाइले अभियान एक महिनापछि धकेलिएको हो ।’ उनले अहिले हात्तीपाइले औषधि अभियानभन्दा कोरोना खोप निकै महत्वपूर्ण भएको बताए । निर्देशक पौडेलले भने, ‘त्यसैले सबै स्वास्थ्यकर्मी कोभिडमा जुटेकाले केही समय हात्तीपाइले विरुद्धको अभियान सार्नुपरेको हो ।’

सरकारले झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा आगामी २० चैतमा अभियान चलाउने निर्णय गरेको छ । यी जिल्लाका ७० लाख नागरिकले औषधी खाने छन् ।

सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यअनुसार सन् २००३ बाट अभियान सुरु गरेको हो । तर, बिरामी पत्ता लगाउन नसकेपछि विश्वभर नै उन्मुलनको समय थप गरिएको छ । अब सन् २०२८ मा हात्तीपाइले उन्मुलन गर्ने लक्ष्य रहेको छ ।

वार्षिक करोडौँ रुपैयाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको अधिकारीहरुल बताएका छन् । औषधी अभियान संचालन हुने प्रत्येक जिल्लामा सवा करोडका दरले खर्च हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार देशभर ३० हजार हात्तीपाइले संक्रमित भएको अनुमान छ ।

तर, हालै महाशाखाले २६ जिल्लामा गरेको एक अनुसन्धानले ती जिल्लामा मात्रै २६ हजार भेटिएका छन् । नेपालका ६३ जिल्लामा हात्तीपाइलेका बिरामी भएको अनुमान छ । अनुमानभन्दा धेरै ठूलो संख्यामा बिरामी भएकाले आगामी वर्ष देशभर अनुसन्धान गर्ने महाशाखाले जनाएको छ ।

चिकित्सकहरूकाअनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीविका कारण हात्तीपाइले रोग लाग्छ । यो रोग लागे पछि निको हुँदैन । चिकित्सककाअनुसार नियमित ६ वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्छ ।

गर्भवती, एक सातासम्मका सुत्केरी, छारेरोगी, मुटुरोग, मिर्गौला, जन्डिस र कलेजोका दीर्घ रोगका बिरामी, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूले औषधी सेवन गर्नुहुँदैन । हात्तीपाइले रोग लागेमा ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, हातगोडामा निलाकाला धर्साहरु देखिने, गिर्खाहरु बढ्ने, पुरुषको अण्डकोष ठूलो हुने, अण्डकोष वरिपरि पानी भरिएर हाइड्रोसिल हुनु, महिलामा स्तन वा यौनाङ्ग सुन्निने, खुट्टा सुन्निएर हात्तीको जस्तो ठुलो हुने, दम बढ्नेजस्ता समस्या देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ