काठमाडौं—मष्तिष्कघात भएर उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुग्नुभएको छ । बुधबार देउवा नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।
फागुन १४ गते मष्तिष्कघात भएर कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री जोशी नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनी अझै कोमामै छन् ।
जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् ।
देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको विषयमा जानकारी लिएका थिए । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको, भेन्टिलेटरको सपोर्टमा राखिएको जानकारी गराएका थिए ।
सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गरेका थिए । ‘देशमै यो लेभलको उपचार हुनु खुशीको कुरा हो,’ संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले भने ।