२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिर्गौला प्रत्यारोपण गरेकी गीताको खेलकुद मोह

मिर्गौला प्रत्यारोपण गरेकी गीताको खेलकुद मोह


‘बाँच्नका लागि दह्रो इच्छाशक्ति र आत्मविश्वास आवश्यक छ’ भन्ने साबित गरेकी छिन्—खोटाङको दिक्तेलकी गीता श्रेष्ठले । मिर्गौला प्रत्यारोपण गरेकी उनी आत्मविश्वासकै कारण सहज जीवनयापन मात्रै गरिरहेकी छैनन्, कराँते, ब्याडमिन्टन र म्याराथन खेलाडीका रुपमा सक्रिय पनि छिन । गीतालाई सानैदेखि खेलकूदप्रति रहर थियो । त्यही क्षेत्रमै उनी केही फरक गर्न चाहन्थिन् । ‘जति उमेर बढ्दै गएको थियो, त्यति नै खेलमा उत्साह, जागर र रुचि बढ्दै गयो,’ उनले सुनाइन् ।

गीता मात्रै होइन्, उनको परिवारमा अन्य सदस्यहरु पनि अतिरिक्त क्रियाकलापमा सक्रिय छन् । उनका दाजु कराँतेका गुरु हुन् भने उनीबाहेक ५ जना दिदीबहिनी पनि खेलकूदमै सक्रिय छन् । गीता पनि कराँते, ब्याडमिन्टनजस्ता खेलहरुमा आफ्नो सीप तिखार्दै गइन् ।

उनले स्थानीय सरस्वती माध्यमिक विद्यालयबाट एलएलसी उत्तीर्ण गरेकी हुन् । त्यसपछि मानविकी लिएर प्लस टु गरिन् । पढ्दै गर्दा उनको घरमा विवाहको कुरा चल्यो । घरपरिवारको सल्लाहमा उनले १९ वर्षको उमेरमा विवाह गरिन् । आफ्नो खेल जीवनलाई निरन्तरता दिने शर्तसहित विवाह गरेको उनले बताइन् । तर, विवाह भएकै वर्ष उनको स्वास्थ्य समस्या देखियो । हातखुट्टा सुन्निनेजस्ता स्वास्थ्य देखिएपछि उनले स्वास्थ्य परीक्षण गराइन् । २०६२ सालमा रिपोर्टमा दुई वटै मिर्गौला फेल भएको पाइयो । जतिबेला उनी २१ वर्षकी मात्रै थिइन् ।

कलिलो उमेरमै दुवै मिर्गौला बिग्रेको खबर पाएपछि उनलाई एकैपटक संसार अध्यारो भएजस्तो लाग्यो । आफ्नो सपनाहरु ढल्दैं गरेको अनुभव गरिन् । आफन्त, परिवारले त बाच्ने आश नै छैन भन्ने सोचेका थिए । त्यो समय सम्झदैँ गीता भन्छिन्, ‘सबैजनाले आश छोडे । तर, म आफैलाई यो रोगसँग लड्छु भन्ने थियो । मैले हिम्मत हारिनँ ।’

उनी मृगौलाको प्रत्यारोपण गराउन परिवारसहित भारतमा पुगिन् । त्यतिखेरसम्म अभियान चलाएर उनको डाइलाइसीस भैरहेको थियो । परिवारबाट निकै साथ पाएकी उनका दाजु, आमा, बुबा सबै मिलेसम्म आफ्नो मिर्गौला दिएर बचाउने भन्दैं उनलाई आशाको टेको दिन थाले । सबैंको परीक्षण गरिएपछि बुबाको मिर्गौला उनलाई प्रत्यारोपण गर्न मिल्ने भयो ।

त्यसपछि २०६३ सालमा भारतको चण्डीगढमा उनको सफल मिर्गौला प्रत्यारोपण भयो । प्रत्यारोपणपछिका दुई वर्ष उनले बेड रेस्ट नै गर्नुप¥यो ।  नियमित खानपानमा ध्यान पु¥याउँदै क्रमसः उनी सामान्य जीवनमा फर्किइन् । सकारात्मक सोच, ध्यान र नियमित शारीरिक कसरत गर्न थालिन् । जसले उनलाई शारीरिक र मानसिक रुपमा बलियो बनाउँदैं गयो । अन्ततः उनी नियमित काममा मात्रै होइन्, आफूले देखेको खेलको सपनालाई पनि पछ्याउन थालिन् ।

विवाह गरेको केही समयमै मिर्गौला प्रत्यारोपण गर्न पुगेकी उनका अगाडि सन्तान जन्माउन पनि मानसिक चुनौती खडा गरियो । समाजले निसन्तान हुनेजस्ता कुराहरु गरिरहेका बेला उनी गर्भवती भइन् । पहिलो पटक ८ महिनामै गर्भवती भएकाले उनी छोरी जन्मेपनि बाँचिनन् ।  उनले अझै  हिम्मत हारिनन् ।  गीताले वि.सं. २०७१ सालमा दोस्रो सन्तानका रुपमा छोरा जन्माइन् । अहिले उनको छोरा निकै स्वस्थ छन् । ‘आफू चर्चित खेलाडी बन्न नसकेपछि छोरालाई चर्चित खेलाडी बनाएर त्यो सपना पूरा गर्छु,’ उनले भनिन् ।

स्वस्थ भएपछि विस्तारै उनका सपनाहरु तग्रिदैं गएका छन् । खेलप्रतिको मोह र  केही गर्छु भन्ने अठोटका कारण उनी खेलकूदमा सक्रिय रहन थालेकी छिन् । त्यसबाहेक उनी मिर्गौला पीडितहरुलाई माया र हौसला पनि प्रदान गरिरहेकी छन् । मिर्गौला बिग्रेपनि जीवन सकिदैंन भन्ने सन्देश प्रवाहित गरिरहेकी उनी अहिले मिर्गौलाका बिरामीहरुका लागि प्रेरणा बनिरहेका छिन्।

५ वर्षअघि उनले साउथ अफ्रिकामा भएको विश्व मिर्गौला एथ्लेटिक्स प्रतियोगितामा भाग लिइन् । त्यो दिन सम्झदैँ भन्छिन्, ‘रेसमा जीतको नजिक थिए । तर, अचानक म लड्न पुगे । हात पर्ने लागेको पदक पनि हात परेन् ।’ तर, त्यो हारबाट उनी निराशा भइनन्, उर्जा भने झनै थपिदै गयो ।  उनले कराँते, एथ्लेटिक्स, ब्याटमिन्टनमा धेरै पदक जितेकी छिन् ।  अझै पनि खेलहरुमा सक्रियरुपले अघि बढिरहेकी छिन् उनी ।

दैनिक औषधी सेवन गर्नुपर्ने तर औषधी निकै महँगो भएकोले समस्या भैरहेको उनको भनाई छ । सरकारले मृगौलाका समस्या भएका व्यक्तिहरुको औषधी निस्शुल्क गरिदिए धेरै राम्रो हुन्थ्यो  ।’ ,उनले भनिन् ।

आफुलाई स्वस्थ महसुस गर्छिन उनी।  मिर्गौला प्रत्यारोपण पछि स्वस्थ रहनको लागि सकेसम्म बाहिरको खाना नखाने, सन्तुलित भोजन सेवन गर्न पर्ने, तनाव नलिने, आत्मबल बढाउने, शारीरिक व्यायम गर्ने, विहान बेलुका हिड्डुल गर्नुपर्ने उनी बताउछिन  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ