४५.५ प्रतिशतले नियमित सेवा पाएनन् ।
४१.७ प्रतिशतले फ्लोअपमा आउन सकेनन् ।
काठमाडौं–कोभिड—१९ महामारीको समयमा क्षय रोग सम्बन्धी सेवामा गम्भीर प्रभाव परेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय राष्ट्रिय क्षय रोग नियन्त्रण केन्द्रले गरेको अध्ययनमा कोभिड—१९ को समयमा झण्डै ५० प्रतिशत बिरामीले सेवा नपाएको उल्लेख छ ।
सो अवधिमा क्षय रोग लागेका ४५ दशमलव ५ प्रतिशतले उपचारका लागि नियमित सेवा नपाएको, ४१ दशमलव ७ प्रतिशत नियमित चेकजाँचमा नआएको र अघिल्ला वर्षभन्दा ६७ दशमलव ३ प्रतिशत खकार संकलनमा कमी आएको पाइएको छ ।
सन् २०२० को मे महिनादेखि जुन महिनासम्मको अवधिमा ४९ वटा सेवा केन्द्रको अध्ययन गरी द्रुत अध्ययन प्रतिवेदन निकालिएको केन्द्रका योजना, अनुगमन तथा अनुसन्धान शाखा प्रमुख मुक्ति खनालले जानकारी दिए । उनका अनुसार देशभरका ७१ जना क्षयरोगका बिरामीलाई प्रत्यक्ष अन्र्तवार्ताका माध्यमबाट सो अध्ययनमा सहभागी गराइएको थियो । तर, सो समयमा केन्द्रले अन्तरिम गाइडलाइन बनाएर तीन महिनाका लागि घरमै औषधी सेवन गर्न सक्ने वातावरण बनाएकाले औषधी सेवनमा भने कमी नआएको अध्ययनमा उल्लेख छ ।
केन्द्रले गरेको सो अध्ययनमा ९३ प्रतिशत क्षयरोगका बिरामीमा यस सम्बन्धी सही जानकारी रहेको समेत पाइएको खनालले बताए ।
सरकारले सन् २०३० सम्म प्रति लाख २० जनामा क्षयरोगीको संख्या झार्ने लक्ष्य राखेको छ । कोभिड—१९ जस्तो महामारी र आगामी दिनमा पनि आउन सक्ने यस्ता महामारीलाई मध्यनगर गरी सरकारले त्यस्तो समयमा पनि क्षयरोगको सेवा निरन्तर हुने गरी रणनीति तयारी गरिरहेको खनालको भनाइ छ ।
‘महामारीका बेला सेवा अवरुद्ध हुँदा स्वभाविक रुपमा उपचार र यसको लक्ष्यमा पुग्न गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘त्यही भएर नयाँ रणनीति तयार हुँदैछ । जसले कुनै पनि बेला यस्ता गम्भीर संक्रामक रोगको उपचार सेवा प्रभावित नहोस् भन्ने गरी कार्यक्रम तयारी गर्छ ।’