२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन, पोखरा र कर्णालीको उपकुलपतिका लागि ३/३ जनाको नाम सिफारिस

पाटन, पोखरा र कर्णालीको उपकुलपतिका लागि ३/३ जनाको नाम सिफारिस

यी हुन् सम्भावित उपकुलपति


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीको अध्यक्षतामा गठन भएको पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्पर्धीको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार तीनवटै प्रतिष्ठानका लागि तीन/तीन जनाको नाम सिफारिस भएको हो ।

स्रोतले हेल्थ आवाजलाई दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. डुक बहादुर(डिवी) क्षेत्रीको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

त्यसैगरी, प्रा.डा. ध्रुव अधिकारी र प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस समितिले गरेको हो ।

पोखराको उपकुलपतिका लागि १२ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले १२ जनाको कागजात हेरी ९ जनालाई पहिलो सूची सार्वजनिक गरेको थियो । ९ जनाबाट तीन जनाको नाम उपकुलपतिको लागि कुलपतिलाई सिफारिस गरेको हो ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रतिष्ठानभित्रैका २ प्राध्यापक र १ बाहिरका रहेका छन् । सिफारिस हुनेमा पहिलो नम्बरमा वर्तमान कार्यबाहक उपकुलपति समेत रहेका रेक्टर प्रा.डा. राजेशनाथ गंगोल रहेका छन् ।

त्यसैगरी, प्रतिष्ठानकै रेडियोलोजीका प्राध्यापक डाक्टर दानबाहादुर कार्कीको नाम दुई नम्बरमा सिफारिस गरीएको छ ।

प्रतिष्ठानबाटै अर्का प्रभावशाली सम्भावित उमेदवार भनिएका प्रा.डा. पारश कुमार आचार्यको नाम भने पर्न सकेन । तेस्रो व्यक्ति भने प्रतिष्ठानभन्दा बाहिरा प्रा.डा. रहेका छन् । पाटनमा पनि उपकुलपतिका लागि १२ जनाले नै आवेदन दिएकोमा ९ जनाको प्रारम्भिक सूची निकालेको थियो । त्यसमा एक जना फरक समुहबाट परेपछि उनको पनि सर्ट लिस्टबाट नाम हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उपकुलपतिको लागि सबैभन्दा बढी आवेदन परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि सिफारिस समितिले एक नम्बरमा कार्यबाहक उपकुलपति डा मंगल रावलको नाम सिफारिस गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा प्रतिष्ठानकै डिन प्रा.डा. रेशम रानाको नाम आएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । तेस्रो नम्बरमा भने त्यहापनि प्रतिष्ठान बाहिरको उमेदवारको नाम हुनसक्ने स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिफारिस भएकामध्य पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक नम्बरमा सिफारिस भएका डा. क्षेत्रीको सम्भावना बलियो रहेको छ । एमाले नेता खगराज अधिकारी निर्णयक मानिने सो प्रतिष्ठानका लागि डा क्षेत्री उनको पहिलो रोजाइ रहेको उनी निकट एक कार्यकर्ताले बताए ।

तर, नेता अधिकारीले हेल्थ आवाजसँग भने सबै उमेदवार पोखराकै भएको र योग्य भएको हुँदा आफ्नो कुनै विशेष चासो नभएको बताए । ‘सबै योग्य र यही को हुनुहुन्छ ।’, उनले भने,‘जो भएपनि प्रतिष्ठानलाई चलाउन सक्ने हुनुहुन्छ मेरो कसैप्रति विशेष चासो छैन ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि भने स्वास्थ्यमन्त्री  त्रिपाठीले आफै चासो राखेका छन् । उनले कार्यबाहक उपकुलपति डा गंगोललाई नै अगाडी बढाउन चाहेको मन्त्री निकट स्रोतले जनाएको छ । ‘पाटनलाई राम्रोसँग बुझेको, सबै पदमा बसेर काम गरेको हुँदा मन्त्रीको पहिलो रोजाइ डा गंगोल हुनुभएको हो ।’, स्रोतले भन्यो, ‘ ‘पाटन बाहिरका उमेदवारको पनि मन्त्रीज्यूलाई धेरै प्रेसर थियो तर त्यहीको हुनुपर्छ भन्नेमा उहा अडिक हुनुहुन्छ ।’

डा गंगोललाई अगाडी बढाउनको लागि नै अर्का दह्रो प्रतिष्पर्धी प्रा.डा. पारस कुमार आचार्यको नाम तीन जनामा नपरेको मन्त्रालय स्रोतको दावी छ । तर नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुले भने दोस्रो नम्बरमा सिफारिस भएका डा कार्की हुनुपर्ने लविङ्ग गरिरहेका छन् ।

भर्खरै पिजी पढाइ सुरु भएको र एमबिबिएस अध्ययनको तयारी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि भने स्वास्थ्य मन्त्री र प्रधानमन्त्री दुवैको पहिलो रोजाइमा कार्यबाहक उपकुलपति डा मंगल रावल रहेको बुझिएको छ । अस्पताल निर्देशक समेत रहेका डा. रावलले कोभिडको समयमा कर्णालीका  सबै जिल्लामा समन्वय गरी गरेको कामको प्रशंसा भएको थियो ।

साहायक प्राध्यापक रहेका उनलाई केहीले जुनियरको आरोप लागेतापनि प्रतिष्ठानका कर्मचारी र कर्णालीका जनप्रतिनिधीहरुले भने कर्णाली बसेर प्रतिष्ठान बुझेको र कणाली चिनेको योग्यता पुगेको व्यक्ति उपकुलपति हुनुपर्छ भन्दै दवाव दिँदै आएका छन् ।

‘कर्णालीको भुगोल बुझेको हुनु पर्दछ ।’,कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ भन्छन्, ‘जागरुक व्यक्ति, जसले अन्य प्रतिष्ठानको दाँजो भन्दा माथि उठाउन सक्ने व्यक्तिलाई नियूक्त गर्नुपर्दछ ।’

त्यस्तै, प्रतिष्ठानका सिनेटर तथा पूर्वराज्यमन्त्री बलबहादुर महत प्रतिष्ठानलाई २ / ४ वर्ष जागिर खाने र पैसा कमाउने उपकुलपतिको खाचो नभएको बताउँछन । ‘स्वास्थ्य क्षेत्रको दक्ष, कर्मठ र पवित्र मन भएको व्यक्ति आवश्यक रहेको छ ।’, उनी भन्छन्, ‘सिनियर जुनियर को कुरा होइन उपकुलपति नियूक्तिका मापदण्ड छन् । तिनै मापदण्डमा रहेर सरकारले उपकुलपति नियूक्ति गर्नुपर्छ ।’

सिफारिस भएका अर्का उमेदवार डिन प्राडा राना सिनियर भएतापनि कर्णाली गएर काम नगरेको आरोप लाग्ने गरेको छ।

* (यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका  उपकुलपति सिफारिस भएका प्राडा डुक बहादुर क्षेत्रीको प्रकाशित तस्विर अन्यथा पर्ने गएकोमा क्षमायाचना गर्दछौं । – सम्पादक)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ