भारतको महाराष्ट्र सरकारले कोरोना नियन्त्रण गर्न ३० अप्रिलसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको छ। सो प्रदेशमा हरेक साताको शुक्रबार राति ८ बजे देखि सोमबार बिहान ७ बजेसम्म कडा लकडाउन हुने र दैनिक राति ८ बजे देखि ७ बजेसम्म रात्रिकालीन कर्फ्यु लाग्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्।
दिनमा मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने जस्तो प्रतिवन्ध जारी रहनेछ।
महाराष्ट्रमा दिनानुदिन कोरोना संक्रमण उच्च देखिएकोले लकडाउन गरिने निर्णय भएको त्यहाँका स्वास्थ्यमन्त्री राजेश टोपेले जानकारी दिए। पछिल्लो २४ घन्टामा मात्रै एकैपटक ५७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना नियन्त्रणका लागि सरकारले महामारीको सामना गर्न नयाँ मापदण्ड समेत जारी गरेको छ।
स्वास्थ्यमन्त्री राजेश टोपेले राज्यमा अत्यावश्यक सेवालाई छोडेर निजी कार्यालय पुरै बन्द गरिने बताए। यस्तै, आर्थिक सेवा दिने -बैंक, स्टक मार्केट, बीमा, मेडिक्लेम र टेलिकम्युनिकेशन सेक्टरको अफिस भने खुल्ला रहनेछ।
यस्तै, कोरोनासँग सम्बन्धित स्वास्थ्य, चिकित्सा शिक्षा, आपद प्रवर्धन समेत अन्य विभाग पूरी क्षमतासँग चलिरहने बताइएको छ ।
-एजेन्सी