२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकीका सबै क्षेत्रमा कोरोना संक्रमणको असर

गण्डकीका सबै क्षेत्रमा कोरोना संक्रमणको असर


पोखरा –  गण्डकीमा पनि कोरोना संक्रमितको संख्या करिब साढे १७ हजार पुगेको छ । २११ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । यसबैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमणको असर सबै क्षेत्रमा देखिएको छ ।

पोखराका विद्यालयको परीक्षा वैशाख महिनाभित्रै सक्ने गरी निर्णय गरेको छ । कोरोना जोखिम बढेर विद्यालय बन्द भए पनि वार्षिक परीक्षा भने नरोक्ने निर्णय गरेको हो । नगरपालिकाको शिक्षा महाशाखाले स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

वैशाख ५ गते वैशाखभित्रै परीक्षा सक्ने निर्णय गरेको महानगरले संघीय सरकारको निर्णयसँगै विद्यालय बन्द गरेको थियो । कक्षा ८ को परीक्षा जेठ ३ गतेबाट पूर्व निर्धारित समय तालिका अनुसार नै गर्ने निर्णय गरेको छ । यद्यपि कारोना संक्रमणको अवस्था हेरी फेरबदल हुनसक्ने विकल्प पनि खुल्लै राखेको छ । महाशाखाले बुधबार विज्ञप्ति प्रकाशित गरी विद्यालयमा पठनपाठन कुनै पनि शर्तमा नगर्न तर स्वास्थ्य सावधानी र सुरक्षा मापदण्ड अपनाएर परीक्षा भने वैशाखभित्रै सक्न निर्देशन दिएको हो ।

कोरोना जोखिम तीव्र भएसँग पोखरा रंगशाला प्रवेशमा रोक लगाइएको छ । सरकारले कोरोना नियन्त्रणका लागि कडाइ गरिरहेका बेला जिल्ला विकास समितिका अध्यक्ष प्रकाश बराल र क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मीप्रसाद योगीले संयुक्त विज्ञप्ति जारी गरी रंगशाला प्रवेशमा रोक लगाएको जनाएका हुन् ।

कोरोना समुदायस्तरमा फैलन सक्ने भन्दै चापाकोट नगरपालिकाले लकडाउन गरेको छ । नगरपालिका अन्गर्ततका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना पुष्टि भएको हुँदा संक्रमणबाट बच्न उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ । नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न भनेको छ ।

कास्की प्रशासनले विज्ञप्ति निकालेर होटल तथा रेस्टुरेन्ट बेलुका ८ बजेसम्म मात्रै सञ्चालन गर्न भनेको छ । यससँगै साँझ तथा रात्रिकालीन सेवाहरु चाँडै नै बन्द हुन थालेका छन् । तथापि उनीहरुले सुरक्षा मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

मुस्ताङमा माक्स अनिवार्य गरिएको छ । दोस्रो चरणमा कारोना संक्रमण नदेखिएको मुस्ताङमा कोरोना नफैलियोस् भन्ने उद्देश्यले त्यहाँ पुग्ने पर्यटकलाई मास्क अनिवार्य गरिएको हो । मुस्ताङ भित्रिने पर्यटकलाई ट्राफिक प्रहरीले निगरानी गर्ने गरेको छ । मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ ।  कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, गोरखाको मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाखमहिनाभर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठमन्दिर, चर्च, मस्जिद वैशाखमहिनाभर बन्द गर्न निर्देशन दिएको थियो । कास्की कांग्रेसका सभापति कृष्णबहादुर केसीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको रिपोर्ट पोजेटिभ देखिए पनि परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ