काठमाडौं—मास्क नलगाउनेलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएर सचेतना क्लास दिएर पठाउन थालेको छ । कोभिड—१९ को संक्रमण उच्च बनेपनि मानिसहरु मास्क नलगाएर हिड्ने एवं मास्क नाकमुनि र चिउडोमा लगाएर हिड्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सचेतना दिन थालेको हो ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले मास्क नलगाएर हिड्नेलाई नियन्त्रणमा लिएर प्रहरीले होल्डिङ जोनमा राखेर सचेतना दिन थालेको बताए । ‘हामीले माइकिङ त गरि नै रहेका छौं,’ सिंहले हेल्थआवाजसँग भने, ‘मास्क नलगाएर हिड्ने, मास्क नाकमुनि र चिउडोमुनि लगाउनेलाई आजबाट नियन्त्रणमा लिएर सचेतना दिन थालेका छौं ।’
प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा यस्तो अभियान सुरु गरेको हो । मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा केही घण्टा राखेर प्रहरीले सचेतना क्लास दिएर पठाउने गरेको छ ।
प्रहरीकाअनुसार विहान १२ बजेसम्म मात्रैं १ हजार भन्दा बढी मास्क नलगाएर हिडडुल गरिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएर सचेतना क्लास दिएर पठाइएको छ ।
कोरोनाको नयाँ भेरियन्ट तीब्र रुपमा फैलिरहे पनि काठमाडौंमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड पालना हुन सकेको छैन । सार्वजनिक स्थानमा मास्क नलगाउनेहरु समस्या सिर्जना गरेपछि प्रहरीले यस्तो अभियान सुरु गरेको हो ।