२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा

मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा


पोखरा—मध्यबिन्दु अस्पताल नवलपरासीमा शल्यक्रिया सेवा पहिलोपटक सुरु भएको छ । अस्पतालमा १५ वैशाखमा ६४ वर्षीय पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको सर्जन डा. वीरबहादुर थापाले बताए ।

उनका अनुसार मध्यबिन्दु अस्पतालमा गरिएको यो नै पहिलो शल्यक्रिया हो । डा. थापाको नेतृत्वमा डा. शिवराज न्यौपाने, डा.कमलराज न्यौपाने र २ जना नर्ससहितको टोलीले सफल शल्यक्रिया गरेको हो । डा. थापाले बिरामीको शुक्रबार फ्लोअप गरिएको जानकारी दिए ।

‘हर्निया आन्द्रा बाहिर निस्कने समस्या हो । ढाडमा सुई लगाएर लठ्याएपछि आन्द्रा ठिक ठाउँमा राखेर बाहिर निस्किएको ठाउँलाई बन्द गर्नुपर्छ’ उनले भने, ‘मासु कमजोर भएको ठाउँमा जालीसमेत राख्नुपर्ने हुन्छ ।’ डा. थापासहिते टोलीले उक्त शल्यक्रिया करिब सवा घन्टामा सकेको थियो ।

अस्पतालमा यसअघि शल्यक्रियाका लागि आवश्यक सामग्रीलगायत पूर्वाधार केही पनि थिएन । शल्यक्रियालाई निरन्तरता दिन आवश्यक पूर्वाधार र सामग्री जुटाइरहेको डा. थापाले जानकारी दिए । अहिले हर्नियाको शल्यक्रिया गर्ने पूर्वाधार तयार भएपनि अन्य शल्यक्रियाका लागि पूर्वाधार भने तयार भइनसकेको उनले बताए ।

पूर्वाधार तयार भयो भने सामान्य शल्यक्रियाका लागि अन्यत्र जानुनपर्ने उनी बताउँछन् । डा. थापा यसअघि भरतपुर अस्पताल चितवनमा कार्यरत थिए । यसअघि सामान्य शल्यक्रियाका लागि पनि भरतपुर चितवन जानुपर्ने बाध्यता थियो ।

यता, मध्यबिन्दुमा शुक्रबारबाट ओपिडी सबै सेवा बन्द गरिएको छ भने फिभर क्लिनिकमात्र सञ्चालन गरिएको छ । अस्पतालमा २ जना कोरोना बिरामी छन् । कोरोना लक्षण भएका अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र अस्पतालमा राखिएको डा. थापाले बताए । तराई क्षेत्रमा गर्मी बढेसँगै डेंगु समस्या देखिने भएपनि अहिलेसम्म नदेखिँदा सहज भएको डा. थापाले बताए ।

यस्तै, मध्यबिन्दु जिल्ला अस्पतालमा गरिएको पिसिआर जाँचबाट गत २४ घन्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ