२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोनाको मृत्युदर बढ्यो, बाँकेमा दैनिक १८ जनासम्मको मृत्यु

कोरोनाको मृत्युदर बढ्यो, बाँकेमा दैनिक १८ जनासम्मको मृत्यु


नेपालगन्ज-बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । उपचारकै क्रममा बुधबार बाँकेका ९ जना र छिमेकी जिल्लाका ७ जनाको मृत्यु भएको हो ।

बुधबार एकै दिनमा १८ जनाको मृत्यु भएको थियो । बढ्दो मृत्यु दरले कोरोना संक्रमणको अवस्था झनै भयावह बन्दै गएको देखिएको छ ।

कोरोना वार्ड भरिएपछि भेरी अस्पतालले संक्रमितहरुलाई इमरर्जेन्सी वार्ड र अस्पताल बाहिर टेन्ट लगाएर पनि उपचार गरिरहेको अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । भेरी अस्पतालमा मात्रै २ सय ५१ जनाको उपचार भइरहेको छ । भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन दिएर राखिएको छ ।

अस्पतालहरुमा बेड र अक्सिजन नपाउने समस्या दिनानुदिन मृत्यु दर समेत बढ्दै गएकाले स्थितिलाई थप भयाबह बन्न नदिन तत्काल स्वास्थ्य संकटकाल लगाएर सरकारी, निजी, मेडिकल कलेजका सबै अस्पतालहरुमा कोरोनाका संक्रमित बिरामीहरुको उपचार गर्ने ब्यवस्था मिलाउनुपर्ने भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताउँछन् ।

वैशाख महिनाका २९ दिनमा मात्र कोरोना संक्रमणबाट बाँकेका मात्रै १ सय ४७ जनाको मृत्यु भएको छ । अन्य जिल्लाबाट बाँकेका अस्पतालहरुमा उपचार गराउन आएका ६६ जनाको मृत्यु भएको छ ।

१ बैशाखसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक १ जनाको हाराहारीमा थियो । ५ बैशाखमा त्यो संख्या ४ पुग्यो । १२ बैशाखमा ६ हुँदै त्यसपछिका दिनहरुमा मृत्युदर दिनहुँ जस्तै बढ्दै गएको छ । १४ बैशाखमा १० , १६ बैशाखमा १२ र २३ बैशाखमा १६ पुगेको थियो । कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा २१ वर्षदेखि ८८ वर्षसम्मका छन् ।

सोमबार बाँकेमा ८ सय ४३, मंगलबार ७ सय २० र बुधबार ५ सय ६३ जना नया संक्रमित थपिएका थिए । बुधबार नयाँ संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या झन्डै आधा मात्रै छ ।

योसँगै बाँकेमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय १ पुगेको छ । अस्पताल र आइसोलेसनमा ५ सय २६ र होम आइसोलेसनमा ३ हजार ८ सय ३० जना छन् । संक्रमण तीब्र गतिमा फैलिएर बिरामीको संख्या बढ्दै गएका कारण मृत्युदर पनि बढ्दै गएको डा. पाण्डेले बताए ।

लकडाउन सुरु भएको तीन साता बितिसक्दा पनि अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन । बेड र अक्सिजन नपाउने समस्या बढ्दै गएकाले नेपालगन्जवासी निकै अप्ठ्यारो अवस्थाको सामना गरिरहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ