२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगको सैद्धान्तिक सहमति

बिएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगको सैद्धान्तिक सहमति


काठमाडौं-चिकित्सा शिक्षा आयोगले झापास्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ को ६ बमोजिम बीएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको हो ।

‘बीएण्डसीले प्रस्तुत गरेका डकुमेन्टहरु कानुनसम्मत पूर्ण छन्, छैनन हेरेर सम्बन्धन दिने सैद्धान्तिक सहमति भयो,’ आयोगको सदस्य बसुरुद्धिन अन्सारीले भने ।

वि.सं. २०७३ सालमा सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयमा निवेदन दिएको सो कलेजले ५ वर्षपछि सम्बन्धन पाएको हो । चिकित्सा शिक्षा ऐन जारी भएपछि एमबीबीएस अध्ययन/अध्यापन गराउन सम्बन्धन पाउने यो नै पहिलो निजी मेडिकल कलेज भएको छ ।

आयोगको ऐनको दफा १३ को उपदफा ६ मा ऐन आउनुअघि मापदण्ड पुगेर एलवाई लिइसकेका उपत्यका बाहिरका प्रस्तावित मेडिकल कलेजको हकमा सम्बन्धन दिन आयोगले सक्ने उल्लेख छ ।

यसअघि काठमाडौं विश्वविद्यालयले आयोगलाई बीएण्डसी कलेजको अनुगमन गरी सिट संख्या र सम्बन्धनका लागि सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको उपस्थित एक सदस्यले बताए ।

आयोगको बैठकमा ३ जना अनुपस्थित रहेका र बाँकी सदस्यहरुमध्ये अधिकांशले सम्बन्धन दिनका लागि सकारात्मक राय दिएपछि बैठकले निर्णय गरेको ती सदस्यले बताए । बैठकमा प्रा.डा. जेपी अग्रवाल, प्रा.डा. रमेशकान्त अधिकारी र चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की अनुपस्थित रहेका थिए । केही सदस्यहरुले बीएण्डसीका केही विवादका कुरा आइरहेका हुँदा विवादित कुरालाई टुंग्याएर सम्बन्धन दिनका लागि सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ