२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविभिन्न कार्यक्रमका साथ विश्व रक्तदाता दिवस मनाइदैं

विभिन्न कार्यक्रमका साथ विश्व रक्तदाता दिवस मनाइदैं


काठमाडौं–संसारभरमा जस्तै नेपालमा पनि आज विश्व रक्तदाता दिवस मनाइदैंछ । हरेक वर्ष जुन १४ तारिखमा मनाइदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले ‘रक्तदान गरौं र संसारलाई चलायमान बनाऔं’ भन्ने नारालाई सार्थक बनाउन सोमबार तीन हजारभन्दा बढी रक्तदाताहरुलाई मोबाइलमा धन्यवाद सन्देश पठाएको छ ।

दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिमिल्सिनाले कोभिड–१९ को महामारीमा सबैभन्दा बढी प्रभावित मुलुक नेपालका रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहेकोमा धन्यवादसहित सम्मान व्यक्त गरे ।

‘आफ्नो लागि केही अपेक्षा नराखी दान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई हृदयदेखि नै नमन छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की निर्देशक डा. रुणा झा भनिन् । उनले रगतको समुचित प्रयोग हुनुपर्ने कुरामा एनपीएचएल सचेत रहेको बताइन् ।

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री दीपेन्द्र ढकाल, कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल, एनपीएचएलका सिनियर प्याथोलोजिष्ट डा. रेखा मानन्धरले दिवसकै अवसरमा आम रक्तदाताहरुलाई धन्यवाद दिएका छन् ।

रक्तदाता दिवसकै अवसरमा रक्तदाताहरु र रक्तदाता संघसंस्थाहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको छ । व्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले स्वैच्छिक, अवैतनिक रक्तदाता बढाउन र रेडक्रसको रक्तसञ्चार सेवालाई सहयोग गर्न संस्था प्रतिबद्ध रहेको बताए ।

१५२ पटक रक्तदान गरेकी नीता घिरइया, ३५ वर्षदेखि विभिन्न महादेशमा गएर रक्तदान गरी रक्तदान गर्दै आएका अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्व माध्यामिक विद्यालयको पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम यूवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्यांकहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

दिवसकै अवसरमा बागमती प्रदेश समितिले जुनियर युवाबीच कविता प्रतियोगिता आयोजना गरिएको छ । जसको नतिजा १४ जुनको बेलुकी नतिजा सार्वजनिक हुनेछ ।

सोमबार देशभरि नै दिवसको अवसरमा रक्तदान कार्यक्रम राखिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । नेपालमा २ लाखको हाराहारीमा नियमित रक्तदाता रहेको, महिला रक्तदाता १७ प्रतिशत मात्रै भएकोले सुलभ रगत हुनको लागि युवा रक्तदाता र महिला रक्तदाताहरु बढाउन आवश्यकता रहेको उनी बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ