२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप व्यापक दुरुपयोग, ५ सयभन्दा बढी डोजको हिसाब नै गायब

कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप व्यापक दुरुपयोग, ५ सयभन्दा बढी डोजको हिसाब नै गायब


दोलखा –दोलखामा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको व्यापक दुरुपयोग भएको पाइएको छ । स्वास्थ्य कार्यालय दोलखाको लापरवाहीका कारण जिल्लामा साढे पाँच सयभन्दा बढी डोज खोपको हिसाब नै हराएको छ ।

वि.सं. २०७७ साल १२ माघदेखि यता जिल्लामा एक हजार छ सय ४७ भाइल अर्थात १६ हजार ४ सय ७० डोज कोभिसिल्ड खोप आएकोमा पाँच सय ५७ डोज खोप हराएको हो ।

स्वास्थ्य कार्यालय दोलखाका कोल्डचेन असिस्टेन्ट शिवराम बस्नेतकाअनुसार हाल दोलखामा २२ भाइल अर्थात दुई सय २० डोज खोप स्टोर छ । गत माघदेखि यता पहिलो र दोस्रो डोज गरी जम्मा १५ हजार दुई सय ७३ खोप लगाएको छ भने ४२ भाइल अर्थात ४२० डोज खोप स्वास्थ्य कार्यालय काभ्रे पठाएको रेकर्ड छ ।

परिवार कल्याण महाशाखाको रेकर्डअनुसार दोलखामा अझै ५२ भाइल अर्थात ५२० डोज खोप स्टक हुनुपर्ने भएपनि २२ भाइल खोप नभएपछि खोप हराएको पाइएको छ । दोलखामा २०७७ साल १२ माघमा २२७ भाइल, १ फागुनमा ३५० भाइल, १४ फागुनमा ७२० भाइल, २३ चैतमा १०० भाइल र ३१ चैतमा २५० भाइल गरी एक हजार ६ सय ४७ भाइल खोप भित्रिएको थियो ।

स्वास्थ्य कार्यालय दोलखाको लापरवहीले ५५.७ भाइल खोप हराएको छ । कोभिसिल्ड खोपको एक भाइलमा १० डोज खोप हुन्छ भने भाइल खोलेको ६ घण्टासम्म खोप लगाउनुपर्ने हुन्छ । आफ्ना नजिकका मानिसहरूलाई खोप कार्ड बिनानै खोप लगाई दिनेदेखि विभिन्न पालिकामा पठाइएको खोपको सुरक्षा हुन नसक्दा यति धेरै मात्रामा खोप हराएको हो ।

निर्देशिकाअनुसार खोप लगाउनुपूर्व प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समितिको निर्णयपछि मात्रै खोप लगाउनुपर्छ ।

तर, मन लागेका व्यक्तिहरुलाई खोप लगाउने र त्यसको हिसाब नराख्दा खोप हराएको हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकारले कोभिसिल्डको पहिलो डोज खोप कार्यक्रम बन्द गरिएको भएपनि केहि समयअघि स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौड्यालको नातेदारदेखि, जिल्ला अदालतको सरकारी वकील लगायतलाई पहिलो÷दोस्रो डोज खोप लगाएको पाइएको छ । प्राप्त जानकारीअनुुसार स्वास्थ्य कार्यालयकै कोठामा खोप लगाएका उनीहरुको हालसम्म खोप कार्ड बन्न सकेको छैन् ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार खोपको सुरक्षा र उचित व्यवस्थापनका लागि बागमती प्रदेशमार्फत ६३ लाख रुपैयाँ रकम आएको छ । सुरक्षित तवरले खोप लगाउनेलाई दैनिक भत्ता, खोप लाँदा र ल्याउदाको ढुवानी खर्च समेतको व्यवस्था हुँदाहुँदै पनि खोप बचाउन नसक्नुले स्वास्थ्य कार्यालय दोलखामाथि शंका उब्जिएको छ ।

बैशाखबाट कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्न आएका अर्जुन पौड्यालले भने खोप लगाउँदा सो खोप खेर गएको बताए । केन्द्रबाट प्राप्त भएको भ्याक्सिन र जिल्लास्थित स्वास्थ्य संस्थामा सञ्चालन गरेको खोपको रिपोर्टअनुसार खोप हराएपछि उनले सो कुरा बताएका हुन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ